कालो बोका काटेर एअरबसको पूजा

392
  •  
  •  
  •  

काठमाडौं १६ फागुन । नेपाल वायुसेवा निगमले शुक्रबार बिहान नयाँ एअरबस विमान उडाउनुअघि दुईवटा काला बोका काटेर पूजा गरेको छ।

शुक्रबार बिहान ८ बजे काठमाडौं-दिल्लीका लागि तय भएको एअरबसको पहिलो अन्तर्राष्ट्रिय उडान सुरु हुनुअघि बोका काटेर विशेष पूजा गरेको निगम स्रोतले जानकारी दिएको छ। निगमका एक कर्मचारीका अनुसार पूजामा बोकाको बलि दिइएको हो।

हिन्दू परम्पराअनुसार गरिएको यस्तो पूजाआजा र बोकाको बलिले निगमको भलो गर्ने विश्वास गरिन्छ। शुक्रबार बिहान एअरबस ३२०-२०० सिरिजको सगरमाथा नामक जहाज उडाउनुअघि विमानस्थलमा रहेको इन्जिनियरिङ विभागद्वारा स्थापित आकाश भैरवको मन्दिरमा बलि दिएको निगमका एक कर्मचारीले अन्नपूर्णलाई बताए।

निगमका अनुसार आन्तरिक रूपमा गरिएको यो पूजामा जहाजको पाङ्ग्रामा बलि दिने वा रगत लगाउने काम भने गरिएन।
निगमले कुनै पनि विशेष काम गर्दा, उपलब्धि हासिल गर्दा र हरेक दसैंमा कालो बोकाको बलि दिएर पूजा गर्ने गरेको छ।

निगमको केन्द्रीय कार्यालयको कौसीमा पनि आकाश भैरवको मूर्ति राखिएको छ। यस मूर्तिमा निगमको हित र भलाइको कामना गर्दै दिनहुँ पूजा हुने गर्छ।

दुई वर्षअगाडि इन्जिनियरिङ विभागमा स्थापना गरिएको आकाश भैरव मूर्तिमा भने नयाँ जहाज आउँदा, इन्जिनियरिङ विभागले जहाजको पार्टपुर्जा ठूलो संख्या वा मूल्यमा खरिद गर्दा, हरेक वर्ष दसैंमा र मूर्तिमा रंगरोगन गरेपछि बलि दिएर पूजा गर्ने गरिएको छ।

निगमले साढे दुई दशकपछि अन्तर्राष्ट्रिय उडानका लागि किनेको एअरबवस जहाजमा पूजा गरिएको र भैरवको नाममा बलि दिएको निगम स्रोतले जानकारी दिएको छ।

निगमका प्रवक्ता रामहरि शर्माले भने दिनहुँ हुने पूजा भन्दै सामान्य भएको जानकारी दिए। निगमले सधैं आकाश भैरवको पूजा गर्ने भएकोले शुक्रबार बिहान एअरबस उडाउनुअघि भएको पूजा पनि अघिपछिजस्तै साधारण भएको प्रतिक्रिया उनले दिए।

उनका अनुसार हिन्दू धर्मअनुसार दिनहुँ ब्राह्मणले यो पूजा गर्छन्।बिहान विशेष पूजा सकिएपछि विमान नयाँदिल्लीका लागि उडेको थियो।

तोकिएको समयभन्दा आधा घन्टा ढिलो उडेको जहाज एक सय एकजना यात्रु लिएर दिल्ली पुगी त्यहाँबाट ४४ जना यात्रु लिएर पौने एक बजे काठमाडौं फर्किएको थियो।

गत माघ २५ गते भित्र्याइएको एक सय ५८ सिट क्षमताको यो जहाजले गत बुधबार नै दिल्ली उडान गर्ने गरी तालिका तय भए पनि भारतले अनुमति नदिएका कारण शुक्रबारका लागि सरेको हो। निगमले भारतको दिल्लीमा तीन वर्षपछि उडान गरेको हो।

जहाज अभावले दोहा, क्वालालम्पुर, हङकङ र बैंकक उडानमा मात्रै निगम सीमित थियो। निगमले दुई महिनापछि भारतकै मुम्बै र बैंग्लोरमा पनि उडान गर्ने शर्माले जानकारी दिए।
अन्न्पूर्णपोष्टबाट


  •  
  •  
  •