माया गरेको पो त लाटी ! (कथा)

3616
  •  
  •  
  •  

Raman Paneru‘आज बल्ल यो बोकाले पालो पाउने भो’ साथीहरुले उल्याउँदै थिए ।

विवाहको पहिलो रात । त्यसै पनि डर लागेको थियो । ग्रामीण भेगमा जन्मेपनि सहरको रहनसहनले प्रेम विवाह गर्ने निकै ठूलो रहर थियो । जति प्रयास गर्दा पनि सम्बन्धहरु खासै अगाडि बढाउन सकिएन । खाली आफैलाई प्रयोग गरिएको भान मात्रै हुन्थ्यो । अनि एउटा ग्लानी बोधले मनमा डेरा जमाउँथ्यो । पढाइ पनि खासै गर्न सकिएन । जेनतेन मास्टर कटाएर एक निजी बैंक को जागिर सम्म हात लाग्यो । काम मात्रै रातदिन, पैसा पाउने बेलामा उही हो ।

आमाबाबुको निकै करकाप पछि विवाहको लागी राजी भएको थिएँ । केटी उमेरमा ७ वर्ष कान्छी हो । गाउँको उच्च मावि सकेर गाउँकै क्याम्पसमा जनसंख्या शिक्षा पढ्थी । त्यस्तै २०–२१ की हुँदी हो । भरिएको शरीर देखेर नाइ भन्न सकेन । फेरी पढाइमा पनि राम्रै थिइ । एकदमै सोझी अनि घरको कामकाज पनि सबै जानेकी छे भनेर आमालाई मन पर्यो । बाबुलाई ससुराले राम्रै दाइजो पठाउने भन्ने लागेर चित्त बुझ्यो । मेरो विवाहबाट खासै अपेक्षा थिएन । एकपछि अर्को सम्बन्ध विग्रिएपछि प्रेम मेरो बसको कुरा होइन भन्नेमा परिसकेको थिएँ । यो विवाह एक खाले आत्मसमर्पण थियो । म मायामा हारे भन्ने प्रमाण थियो । फेरी जीवनभर  एक्लै बस्न पनि त सकिँदैनथ्यो ।

ld3vfकोठामा पस्दा ऊ केहि निदाइ सकेकी थिइ । सायद दिनभरीको कर्मकाण्डले उसलाई पनि गलाएको थियो । म सकेसम्म कम आवाज निकालेर भित्र पसेँ । बाहिरको हल्ला अझै भित्र आउँदै थियो । राम्ररी चुक्कुल लाएर एकछिन दाइजोमा आएको नयाँ सोफामा थचारिएँ । टिभी, दराज सबै कोचाकोच पारेर कोठामा मिलाइ राखेको रहेछ । कुनै गोदाम घर जस्तै लाग्थ्यो । वित्थाको नाटक मात्रै ।

सुत्दा कट्टु मात्रै लाएर सुत्ने बानी भएपनि आज त्यति गर्न लाज लाग्दै थियो । आफ्नो शरीर हेर्दा खासै सुगठित झैँ लाग्दैन । साथीहरुको संगतमा रक्सी खाने बानी परेकाले भुँडी फुलेको छ । जीउभरी झुसैझुस । एक जमानामा तरुनी फकाउने जाँगर चलेका बेला जिमखानामा केहि समय त विताइएको हो, तर त्यो प्रगति पनि कता हराइसकेको थियो । बरु विवाहको कपडाले नै केहि गतिलो बनाएको थियो । कहिल्यै नखौरिने दारी खौरिएर फेर एंड लब्ली दलिदिएका थिए । आज राम्रो देखिनु पर्छ रे !

गोडा खुम्च्याएर टेढो सुतेकीले आधा भन्दा बढि ओछ्यान ओगटिएको थियो । सायद मलाई कुरेकी हुँदी हो । साथीहरुसँग अबेर भयो । त्यहि त हो, जँड्याहाहरुको कुरा कहिल्यै सकिने भए पो ! ब्लाउजको माथिबाट उसको जवानी चिहाउँदै थियो । नितम्बहरु जसो तसो घुसारेको सारीको बाहिरै बाट पनि आकर्षक लाग्थे । एकछिन घोरिएर हेरे अनि बाँकि रहेको खाटमा जेनतेन ठेलिएँ ।

निद्रा लागे पो ! छातिमा हात राखेर केके कुरा खेल्दै थिए कुन्नी, ऊ म तिर फर्किइ । चुरा भरिएका हात मेरा छाति माथि बजारिए । टाउको काँध नजिक पुग्यो । मेरा पाखुरामा उसको नाकबाट निस्केको तातो हावाले निश्चित अन्तरालमा हिर्काइ रहेको थियो । हल्लिन मन भएन । आँखा खोलि भने ?

पाखुरा स्वात्त तल झर्यो । निद्रा बिउझियो । सायद निदाएको थिएन । निदाउने प्रयासमा थिएँ । उसको बरु निद्रा खुलेछ । छेउमा लोग्ने मान्छेको उपस्थितिले केहि अप्ठेरो महशुस गराएको हुनुपर्छ । ओछ्यान सबै ओगटेको पनि ख्याल गरि सायद । अलि पर सरी । हातका चुरा सराउन थाली । विवाहको सबै लुगा जस्तोको तस्तै थिए ।

‘खोले हुन्छ ’ गला साफ गर्दै केहि दबेको स्वरमा भने । प्रश्न भयो या उत्तर थाह पाएन ।

‘हजुर  ’ उसले पनि त्यस्तै अप्ठ्यारो आवाजमा जवाफ दिइ । प्रश्न थियो या अनुमति थाह पाएन ।

ऊ चलमल नगरेको अलि समय भएपछि मेरो छटपटाहट पनि बढ्दै गयो । निद्रा मरे लाग्दैन । घोप्टिएर सुत्न खोजेँ । खल्तीमा केहि रहेछ । हातले छाम्दा प्लाष्टिकको प्याकेट थियो । बीचमा केहि गिलोगिलो महशुस हुँदै थियो । साथीले ‘चाहिन्छ राख’ भनेर दिएको याद भयो । फेरि उत्तानो पल्टिएँ । ऊ मुढा जस्तै अचल सुतेकी थिइ ।

‘भोलि हामीलाई प्रगति विवरण चाहिन्छ ।’ एकले भन्यो ।
‘यसको त भरोसा लाग्दैन । काम हुनु अघि नै गल्छ । ग्यारेन्टी भयो ।’ अर्कोले थप्यो ।
‘हेर त हेर, तेरो पौरुषमै शंका गर्यो यार यसले । अब त केहि गरिनस भने प्रमाणित हुनेछ ।’ पहिलो ले थप्यो ।

म भने लाटोले जस्तै हाँसि मात्रै रहेको थिएँ ।

अँ साँच्चै यसलाई पनि त थाह होला आज यसको पहिलो रात भनेर । उमेरले सानी भएपनि अपेक्षा त यसले पनि गरेकी हुँदी हो । यसले पो के भन्ली । उसको तिर हेरिरहेँ । ऊसले मुख अर्कोतिर फर्काएकी थिइ । जीरो वाटको बल्बको उज्यालोमा उसका आँखाका ढकनी मुनी केहि चलमलाई रहेको देख्न खासै गाह्रो थिएन । घाँटिमा एउटा नशा निकै फुलेको देखिन्थ्यो । मुटुको चालसँगै तलमाथि नाच्दै थियो । एक घुट्को थुक निलेँ । अर्को तर्फ मुख फेरेँ । छेवैको टेबलमा ग्लास राखेको रहेछ । सायद दुध थियो होला ।

‘यो दुध र अण्डा खायो भने पावर आउँछ रे ! त्यसैले त विवाहको रात वेहुलालाई दुध ख्वाउँछन् । पावरको लागि’ एउटाले भन्यो ।

सबैले अट्टाहसपूर्ण हाँसोका साथ ‘हो, हो’ भन्दै समर्थन गरे । ‘तैले चाहिँ आज भित्र जाने बित्तिकै खाएस्, बुझिस ? नत्र काम गर्दागर्दै थाक्लास् ।’ उसले थप्यो । सबैले उहि पुरानो अट्टाहाससँगै एक अर्काको हात पड्काउन थाले ।

‘खानुपर्छ कि क्या हो । आज केहि गरिएन भने फेरी भोलि त यसले पनि गन्न छोड्छे । फेरी यो पनि सुतेकी छैन क्यारे ! रातभर कहिले हुन्छ भनेर आत्तिएर अर्ध निद्रापार्नु भन्दा ढुक्कले सुतेको राम्रो ।’ मैले सोचेँ । उठेर दुधको गिलास मुखमा घोप्ट्याएँ । राख्दा अलि आवाज बढि आएछ सायद ऊ झस्किएर मतिर हेरी । केहि बलगरेर आँखा उघारे जस्तो लाग्दैथ्यो ।

‘अप्ठ्यारो भएन ?’ मुखबाट फुत्त निस्कियो ।

‘हँ ? …हजुर ?’ उसले कुमका आडमा शीर र काँध उचाल्दै मुख बाएर सोधी ।

‘सजिलो गरेर सुत न । कोठा भित्र पनि सबै लाइ रनु पर्छ र ?’ आँट गरेर बोलेँ ।

‘ह्म…’ उसले अलमलमा आवाज निकाली । फेरी टउको खाटमा बिसाइ ।

आइमाइ हो, मेरा अगाडि कपडा फुकाल्ने आँट के गर्दी हो । मैलाई अप्ठेरो लागेको बेला झन् ऊ के अघि सर्दि हो ।

‘हेर, पहल त तैले नै गर्नुपर्छ । अलिअलि नाइनास्ती त गर्छन नै । भित्रभित्रै कहिले अँठ्याउन पाउँ भैरा हुन्छ ।’ एउटाले अनुभव पस्क्यो । यस्ता मामिलामा ऊ केहि अनुभवि मानिन्थ्यो । सबै गलल हाँसे ।

म फेरी ओछ्यानमा आएर उसको नजिकै बसेँ । निधारमा हात लाउदा एकछिन झस्किइ । उसको मन बुझ्न कपाल सुम्सुम्याउँदै घाँटिमा हात पुर्याएँ । हिँउदमा भिजेका हातले छोएको झैँ गरी केहि हच्किइ तर प्रतिरोध गरिन । बिस्तारै काँध र पाखुरा गर्दै उसको हत्केला समाउन पुगेँ ।

उसका आउँलाका चेपमा आफ्ना आउँला घुसारेर जोरले समाएँ । उसको आँखाको ढकनी भित्रको चाल केहि बढ्दै थियो । भरिएका छाति माथि ‘फुटुकफुटुक’ बढ्दै थियो । मुहारमा लाली चढेर राताम्य भइ सकेको थिया अनि घाँटिको नशा पनि फुलेर फुट्लाझैँ देखिन्थ्योः फुटुकफुटुकफुटुक । उसका बन्द आँखाको फाइदा उठाउँदै झुकेर उसको ओठ नजिकै मुख लगेँ । अघि जस्तै निश्चित अन्तरालमा उसको नाकका पोरा बाट निस्किएको हावाले मुहारमा हिर्काइरहेको थियो । किन किन उसको स्वास पनि खुब मन परिरहेको थियो ।

खै केभो एकाएक मेरा हरकत अनियन्त्रित हुन थाले । चलचित्रहरुमा हेरे जस्तै गरेर उसका ओठहरु पालै पालो चपाउन थाले । हातहरु अनियन्त्रित उसका शरीरमा जाइ लागे । यति चाँडै सबै भयो कि ऊ चिच्याएपछि मात्र थाह भयो, अलि हतार गरिएछ । म अर्ध नग्न भएर एकातिर पछारिएँ । ऊ छेवैमा घोप्टो परेर सुति रहि ।

‘स्सस’
लामो निस्वास ।
‘सुक्क …. सुक्क’

यौन मिठो लाग्ने उत्तेजित छँदा सम्म मात्रै हो । स्खलन पश्चात सबै इन्द्रीय ठेगान लाग्छन् । एक खाले ग्लानी अनि बैराग्यले डेरा जमाउन थाल्छ । अनि आफूले गरेका सबै काम गलत लाग्छ ।

ऊ सुक्क सुक्क गर्दै कोठाबाट बाहिर निस्किइ । म कुम टेकेर ऊ गएको हेरिरहेँ । निकै बेर लगाएर फर्किइ । आँखा जुधाउन चाहि रहेकी थिइन । केहि डर लाग्यो । आएर निकै ठूलो दूरी बनाएर घोप्टिइ । कान राता देखिन्थे । पानीले भिजाएर सम्हालेका कपाल जुरोमा अड्याइएका थिए । घाँटिमा केहि राता दाग थिए । अलि जोरले टोकिएछ सायद । म कुममा अडेको अझै कुममै छु । टाउको मात्रै उसलाई पछ्याउँदै उसकै तिर फर्किएको छ ।

लामो निश्वास लिएँ । धेरै सोचेँ । निदाउन पनि थियो । तर उसलाई त्यस्सै छोडेर निदाउन पनि सकेन । बडो आँटका साथ उसको छेउमा सरेर उसका दुई पाखुरा समाए ।

‘के भो लाटी ?’

ऊ झस्किइ । फर्किन मानिन । मैले बारम्बार कर गरेपछि उत्तानो फर्की । एकछिन मलाई घोरिएर हेरी । आँखा राता परेका थिए । नाकको टुप्पो पनि रातो थियो । ओठ माथिल्लो भाग केहि बाक्लिएको थियो । अनि उसको नगर अर्कै तर्फ मोडियो । उसले केहि नभनेरै धेरै भनि । मसँग प्रतिबादमा भन्न केहि थिएन ।

‘माया गरेको पो त लाटी !’


  •  
  •  
  •