मतदाताको औँला काट्ने प्रहरी आक्रमणमा मारिए

324
  •  
  •  
  •  

काठमाडौं, ४ असार (एजेन्सी) । अफगानिस्तानमा हालै भएको राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेको भनी ११ जना प्रौढ व्यक्तिको औँला काटिदिने दुई तालिवान विद्रोहीलाई प्रहरीले खोजी मारिदिएको जानकारी अधिकारीहरूले दिएका छन् ।

अफगानिस्तानमा यस निर्वाचनमा मतदान गर्ने सबै व्यक्तिको औँलामा नमेटिने मसी लगाइएको थियो । यसो गर्दा उनीहरूलाई यसै निर्वाचनमा एकपटकभन्दा बढी मतदान गर्न नसक्ने बनाउँथ्यो । अफगानिस्तानमा तालिवानले निर्वाचनमा भाग नलिन चेतावनी दिएका थिए र यो मसी उनीहरूको चेतावनी नमानेको सङ्केतको रूपमा पनि देखा परेको छ ।

गृहमन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा विद्रोही कमान्डर मुल्लाह सिर आघा तथा उनका एक सहयोगीलाई प्रहरीले हेरातमा गरेको कारवाहीमा मारेको उल्लेख गरिएको छ । यी दुइ व्यक्तिले यस्ता मसी लागेका ११ मतदाताको औला काटिदिएको आरोप लगाइएको थियो ।

यस कारवाहीमा यसरी औँला काट्ने अपराधमा संलग्न अर्का विद्रोही घाइते भएको मन्त्रालयले जानकारी दिएको छ ।  स्थानीय प्रहरीले यस्तो कारवाही गरेको पुष्टि गरेको छ र दुई तालिवान लडाकू भाग्न सफल भएको पनि उल्लेख गरेको छ ।

हेरातका प्रहरी प्रवक्ता अब्दुल रौफ अहमादीले सुरक्षा निकाय उनीहरूको पछि लागेको र यी तालिवानका सदस्यले उनीहरूले गरेको अपराधको मूल्य चुकाउनुपर्ने बताए । अफगानिस्तानमा संयुक्त राष्ट्र सङ्घीय नियोगका प्रमुख जान काबिसले औँला काटिदिने कार्य क्रूर अपराध भएको बताए । तालिवानका एक प्रवक्ताले आफूहरू यस्तो आक्रमणमा नलागेको दाबी गरेका छन् ।

अफगानिस्तानमा राष्ट्रपति हमिद करजईको उत्तराधिकारी खोज्न शनिबार दोस्रो चरणको मतदानमा भाग लिने मतदातालाई तालिवानले आक्रमणको लक्ष्य बनाउने दृढता व्यक्त गरेको थियो ।


  •  
  •  
  •