खाली खुट्टै प्रतियोगिता

223
  •  
  •  
  •  

काठमाडौँ, १० पुस ।
राष्ट्रकै सबैभन्दा बृहत् र महत्त्वपूर्ण खेलकुद प्रतियोगितामा सहभागिता जनाउन आएकी एक किशोरीले आर्थिक अभावका कारण जुत्तासम्म किन्न नसक्ने अवस्थामा खाली खुट्टा नै आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धाका लागि मैदानमा ओर्लनुपर्‌यो । नवलपरासीकी १६ वर्षीया गुडिया गुप्ता शनिबार निर्माणाधीन इटहरी रंगशालामा एथलेटिक्सको पन्ध्र सय मिटर दौडमा आफूभन्दा दिग्गज प्रतिद्वन्द्वीलाई टक्कर दिन पश्चिमाञ्चल क्षेत्रको प्रतिनिधित्व गर्दै खाली खुट्टा ट्र्याकमा ओर्लिइन् ।

प्रतियोगिताको हिट चरणमा उनी छैटौं भइन् तर उनको खाली खुट्टामा न कुनै खेल पदाधिकारीको आँखा गयो न त खेलसँग सम्बन्धित कुनै नीति निर्माताको नै । उनी पश्चिमाञ्चल क्षेत्रको छनोट प्रतियोगितामा पहिलो हुँदै राष्ट्रिय प्रतियोगिता खेल्न पूर्वाञ्चल आएकी हुन् । छनोट प्रतियोगितामा उनले निर्धारित दुरी पाँच मिनेट १२ सेकेन्डमा पूरा गरेकी थिइन् ।

एथलेटिक्स प्रतियोगिता खेल्न खेलाडीका लागि विशेष प्रकारको ‘स्पाइक सु’ लगाउनुपर्ने हुन्छ । ‘स्पाइक सु’ ले खेलाडीको प्रदर्शन स्तरीय बनाउन मद्दत पुर्‌याउँछ । तर गुडियासँग ‘स्पाइक सु’ किन्ने पैसासमेत नभएकाले उनी राष्ट्रिय प्रतियोगितामा खाली खुट्टा दौडिएको उनका प्रशिक्षक मनोहर दाहालले बताए ।

नवलपरासीको बुढी पर्सौनीकी गुडियालाई राष्ट्रिय प्रतियोगितासम्म ल्याउने पनि प्रशिक्षक मनोहर नै हुन् । उनले तीन वर्षअघि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा स्थानीय जनजागृति माविमा अध्ययन गरिरहेकी गुडियाको खेल हेरेका थिए । त्यो प्रतियोगितामा गुडियाको प्रदर्शन देखेर प्रशिक्षक मनोहर आकर्षित भएका थिए । तर त्यसको एक वर्षपछि आर्थिक समस्याका कारण गुडियाले राष्ट्रपति रनिङ सिल्ड नखेल्ने भएपछि आफ्नै पहलमा उनलाई प्रतियोगितामा सहभागी गराएको मनोहरले बताए ।

‘गुडियाको खेल देखेर म निकै प्रभावित भएको थिएँ । त्यसैले आफ्नै पहलमा मैले उनलाई विभिन्न प्रतियोगितामा सहभागी गराएँ । क्षेत्रीय छनोट प्रतियोगितामा पनि उनी पहिलो हुँदै राष्ट्रिय प्रतियोगिताका लागि चयन भएकी हुन्’, मनोहरले भने ।

‘स्पाइक सु’ नभएका कारण इटहरीस्थित निर्माणाधीन रंगशालाको रातो माटोले बनाइएको ‘सेन्डर ट्र्याक’ मा गुडिया खाली खुट्टा दौडिएको उनले बताए । सामान्य ‘स्पाइक सु’ किन्न पनि करिब दुई हजार रुपैयाँ पर्छ । ‘स्पाइक सु’ को अभावमा अरू जुत्ता लगाएर खेल्नुभन्दा खाली खुट्टा नै खेल्नु उपयुक्त भएकाले गुडिया खाली खुट्टा ट्र्याकमा ओर्लिएको प्रशिक्षक मनोहरले बताए ।
अन्नपूर्ण पोष्टबाट


  •  
  •  
  •