विश्वकपमा लिग सम्पन्न, अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी

236
  •  
  •  
  •  

काठमाडौँ, १६ चैत(ओएनएस) : टि-२० विश्वकप क्रिकेट प्रतियोगिताको लिग चरणका खेलहरू गयरातीबाट सम्पन्न भएका छन् । गयराती सम्पन्न अन्तिम खेलमा दक्षिण अफ्रिकाले जित दर्ता गरेको छ । यद्यपी प्रतियोगिताबाट भने बाहिरिएको छ । दक्षिण अफ्रिकाले श्रीलंकालाई ८ विकेटले पराजित गरेको हो ।

१ सय २१ रनको विजय लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १५ बल बाँकी रहँदा मात्र २ विकेट गुमाएर उक्त लक्ष्य पुरा गरेको थियो । दक्षिण अफ्रिकालाई जित दिलाउनका लागि हासिम अमलाले अविजित रहँदै ५६ रन जोडेका थिए भने कप्तान फाफ डु प्लेसिसले ३१ रन र एबी डिभिलियर्सले अविजित रहँदै २० रन जोडेका थिए । श्रीलंकाका लागि लकमलले १ विकेट लिएका थिए ।

यसअघि ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरको खेलमा ३ बल बाँकी रहँदै आफ्ना सबै विकेट गुमाएर १ सय २० रन जोडेको थियो । श्रीलंकाका लागि तिलकरत्ने दिल्सनले सर्वाधिक ३६ रन जोडेका थिए भने कप्तान दिनेश चण्डिमलले २१ रन, दुसन चानकाले अविजित २० रन जोडेका थिए । श्रीलंकालाई उक्त स्कोरमा समेट्नका लागि कायल एबोट, आरोन फांगिसो र फर्हान बहार्डियनले समान २-२ विकेट लिएका थिए भने डेल स्टेन र इमरान ताहिरले समान १-१ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच आरोन फांगिसो घोषित भए ।


  •  
  •  
  •