नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छः प्रधानमन्त्री(भिडियोसहित)

56
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए ।

‘सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘निकै ठूलो मेहनत र सङ्घर्षबाट प्राप्त भएको नागरिकको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्व पूरा गर्न सरकार गम्भीर छ ।’

गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० शय्या निःशुल्क उपलब्ध गराइएको उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले पाठेघरको क्यान्सर र स्तन क्यान्सरविरुद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए ।

संविधानको व्यवस्थाअनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थाहरूले महत्त्वपूर्ण योगदान गर्ने उनले विश्वास व्यक्त गरे । आम नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन राज्यको प्रमुख दायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने उनले बताए ।


  •  
  •  
  •