निष्क्रिय भयो माओवादी पुनर्गठन अभियान

416
  •  
  •  
  •  

काठमाडौं ७ वैशाख ।
तीन माओवादी पार्टीका दोस्रो तहका नेताले सुरु गरेको पार्टी पुनर्गठन अभियान निष्क्रिय भएको छ। पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी, मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दोस्रो तहका नेताले पार्टी पुनर्गठन अभियान सुरु गरेका थिए।

नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले अन्नपूर्णसँग भने, ‘पार्टी एकताका लागि शीर्ष तहमा वार्ता चलिरहेका बेलामा अर्को अभियान किन चलाउनुपर्‍यो र? साथीहरू भावुक भएर लाग्नुभयो। हाम्रो पार्टीको बैठकले त्यस्तो अभियानको योजना बनाउलाजस्तो लाग्दैन।Ó उक्त पार्टीको पोलिटब्युरो बैठक बिहीबारदेखि काठमाडौंमा जारी छ।

पुनर्गठन अभियानले जारी गरेको प्रतिबद्धतामा नयाँ कार्यदिशा बनाउनुपर्ने र विगतका कमजोरीको जिम्मेवारी लिनुपर्ने बुँदाप्रति वैद्य नेतृत्वको माओवादीले अस्वीकार गरेको छ।

‘पार्टी एकताका लागि सञ्चालन गरेको पहल सकारात्मक छ। तर त्यो पार्टी लाइनअनुसार मिलेन। हामीलाई हाम्रो कार्यदिशा सही लागिरहेको छ’, गजुरेलले भने, ‘माओवादी आन्दोलन अहिलेको अवस्थामा पुग्नुमा एमाओवादीको नेतृत्वले गरेको कमजोरीले हो। माओवादी आन्दोलनका सबै नेताको कमजोरीले होइन।’

पार्टीको बैठकमा कतिपय नेताले पुनर्गठन अभियान सञ्चालन गर्ने कुलप्रसाद केसी र हितमान शाक्यले पार्टी लाइनविपरीत अभियान सञ्चालन गरेको भन्दै उनीहरूमाथि कारबाही गर्नुपर्ने मागसमेत गरेका थिए।

उक्त अभियानमा एमाओवादीका जनार्दन शर्मा र नन्दकिशोर पुन थिए भने चन्द नेतृत्वको माओवादीका धर्मेन्द्र बास्तोला थिए। अघिल्लो महिना उनीहरूले संयुक्त कार्यक्रम गरेर माओवादी आन्दोलन पुनर्गठन अभियान सञ्चालन गरिएको घोषणा गरेका थिए।

‘पार्टी एकताका लागि हामीले शीर्ष तहमा सातवटा बुँदामा छलफल गरिरहेका छौं। ती बुँदामा सहमति भएमा पार्टी एकता हुन्छ, सहमति नभएमा कार्यगत एकता हुन्छ’, गजुरेलले भने।

सात बुँदामा अधिकांश सैद्धान्तिक विषय छन् भने एउटा कार्यनीतिक छ। वैद्य र दाहाल नेतृत्वमा दुवै पार्टीका पदाधिकारी रहेको वार्ता समितिमा छलफल हुँदा कार्यनीतिक विषयमा दुवै पार्टीका नेता एक ठाउँमा पुग्न सकेका छैनन्।

एमाओवादी संविधानसभाबाटै संविधान जारी गर्नुपर्ने पक्षमा छ भने अन्य माओवादी सर्वपक्षीय राजनीतिक सभाबाट संविधान जारी गर्नुपर्ने पक्षमा छन्।

‘दुई तिहाइ बहुमत कांग्रेस-एमालेका पक्षमा रहेका कारण संविधानसभाबाट अग्रगामी संविधान बन्नेमा हामीलाई विश्वास छैन। एमाओवादी संविधानसभाबाट संविधान जारी गर्नुपर्ने पक्षमा छ। हाम्रोबीचमा मैत्रीपूर्ण छलफल भइरहेको छ’, गजुरेलले भने।

सशस्त्र द्वन्द्वकालीन मुद्दा ब्युँताउन सक्नेगरी सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा मात्रिका यादव, मणि थापा र परी थापा नेतृत्वका सहित ६ वटा माओवादीले छुट्टै संघर्ष गरिरहेका छन्। संविधान निर्माणका बारेमा भने एमाओवादी र अन्य माओवादीका बीचमा विवाद छ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •