सहमति नभए प्रक्रियाबाटै संविधान : अध्यक्ष ओली

319
  •  
  •  
  •  

KP oli काठमाडौं, २ पुस (ओएनएस) :  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहमति नभए प्रक्रियाबाटै माघ ८ भित्र संविधान जारी गर्ने बताउनुभएको छ ।

एमाले पार्टी कार्यालय बल्खुमा केन्द्रीय कमिटीको समापनका अवसरमा बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्धारित मितिमै लोकतान्त्रिक संविधान सहमतिमै जारी गर्न अन्तिमसम्म प्रयास गर्ने त्यो पनि नभए प्रक्रियामा गएर भए पनि संविधान जारी गर्ने उल्लेख गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “तोकिएको मितिमै संविधान जारी गर्न सहमतिको प्रयास गरिन्छ, त्यो सम्भव नभए आवश्यक सङ्ख्याले संविधान जारी गर्ने व्यवस्था छ, त्यही अनुरुप गर्नुपर्छ ।”

कसैले पनि अनुचित अडान, मनसाय र दृष्टिकोण राख्न नहुनेमा जोड दिँदै उहाँले देशलाई हिंसा र अनिर्णयको बन्दी बनाउन नहुने विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण ध्यान निर्धारित मितिमै संविधान जारी गर्ने भएकाले यसबीचमा प्रधानमन्त्री वा राष्ट्रपति बन्ने विषयमा पार्टीको ध्यान नगएको बताउनुभयो ।

उहाँले देशले स्थायी शान्ति र स्थायीत्व खोजिरहेको उल्लेख गर्दै सहमति र सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको विचार राख्नुभयो ।

नेता माधवकुमार नेपालले मन, वचन र कर्मले पार्टीलाई एकतावद्ध गरेर लैजान सकेमा राष्ट्रिय राजनीतिमा समेत पार्टीको बलियो उपस्थिति हुने बताउनुभयो ।

गत मङ्सिर २२ गतेदेखि सुरु भएका केन्द्रीय कमिटीको बैठकले २१ सदस्यीय स्थायी कमिटी र ६१ सदस्यीय पोलिटब्युरोको गठन सर्वसम्मत गरेको थियो ।


  •  
  •  
  •