इरानमा विस्फोट

75
  •  
  •  
  •  

एजेन्सी । इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजरायलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार धेरै इरानी सहरमा हवाई रक्षा प्रणालीलाई सक्रिय तुल्याइएको छ । मुलुकको आधिकारिक प्रसारकले इस्फहान सहर नजिक विस्फोटको आवाज सुनिएको बताएको छ ।

सप्ताहन्तमा इरानले इजरायलमाथि सयौँ मिसाइल र ड्रोन प्रहार गरेपछि इजरायलले जवाफी आक्रमण गर्ने चेतावनी दिएको थियो । इरानको अधिकांश ड्रोन तथा मिसाइल आक्रमणलाई रोकिएको थियो ।
इरानको फार्स समाचार समितिले कहजावरेस्तान, इस्फहान विमानस्थल र शेखरी सेनाको विमानस्थल नजिक ‘तीन वटा विस्फोट’ सुनिएको बताएको छ । इरानको अन्तरिक्ष एजेन्सीका प्रवक्ता होसेन डेलिरियनले भने ‘धेरै’ ड्रोनलाई ‘सफलतापूर्वक खसालिएको’ बताए । “मिसाइल आक्रमणको कुनै रिपोर्ट गरिएको छैन”, उनले सामाजिक सञ्जाल एक्समा भने ।

आधिकारिक आइआरएनए समाचार समितिले भनेको छ, “कुनै पनि हवाई खतराको प्रभावले कुनै ठूलो क्षति वा ठूलो विस्फोट नभएको रिपोर्टहरूले संकेत गरेका छन् ।” इरानको तस्निम समाचार समितिले इस्फहानमा आणविक केन्द्रहरू ‘पूर्णरूपमा सुरक्षित रहेको’ रिपोर्ट गरिएको बताएको छ ।

एबिसी र सिबिएस न्युजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इजरायलले आक्रमण गरेको बताएका छन् । ह्वाइट हाउस वा पेन्टागनका तर्फबाट तत्काल कुनै टिप्पणी आएको छैन । सिएनएनले एक अधिकारीलाई उद्धृत गर्दै इजरायली आक्रमणको लक्ष्य आणविक नभएको बताएको छ । इजरायली सेनाले एएफपीलाई भनेको छ, “हामीसँग अहिले कुनै टिप्पणी छैन ।”


  •  
  •  
  •