गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

57
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले दिउँसो ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना प्रदेशसभाको सचिवालयमा दर्ता गराएका छन् ।

मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्विप जारी गरिसकेका छन् ।
अधिकारीले वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उनले एक दिन अघि नै विश्वासको मत लिन लागेका हुन् । अधिकारी नेकपा एमाले २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसदको दाबी पेश गरेर गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री अधिकारीले सभामुखलाई गणना गरेर दाबी पेस गरेपछि निवर्तमान मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सर्वोच्च वैशाख १७ गते खारेज गरिदिएको थियो ।

सर्वोच्चको व्याख्याअनुसार ३० सांसदको समर्थन हुँदा बहुमत पुग्ने गठबन्धन नेताहरू दाबी गर्दै आएका छन् । कांग्रेसका नेताहरू भने विश्वासको मत लिँदा बहुमतका लागि ३१ जनाकै समर्थन आवश्यक पर्ने तर्कमा छन् ।

गण्डकीमा नेपाली कांग्रेसका २७ र राप्रपाका २ जना सांसद छन् । तर २ सांसद रहेको राप्रपा अझै अनिर्णित छ । गण्डकी प्रदेशसभामा ६० जना सांसद छन् ।


  •  
  •  
  •