नागरिकमाथि डोजर चलाउनेलाई कारबाहीको माग

299
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बैतडीमा सडक निर्माणका क्रममा नागरिकमाथि डोजर चलाइएको घटनाप्रति ध्यानाकर्षण गराएका छन् ।

फाइल तस्बिर

प्रवक्ता शर्माले मंगलबार सामाजिक सञ्जाल टुइट मार्फत नागरिकमाथि डोजर चलाउनेलाई कडा कारबाहीको माग गर्दै ध्यानाकर्षण गराएका हुन् ।

शर्माले टुइटमा भनेका छन्, ‘बाटो निर्माणमा स्थानीय नागरिकलाई विश्वासमा नलिइ, नगरपालिकाले सहमति खोजिरहँदा एक्कासि नागरिकमाथि डोजर चलाउने जो हुन,् तिनलाई कडा कारबाही गरिनुपर्छ ।’

बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमासडक निर्माणका क्रममा विवाद हुँदा डोजर आक्रमणबाट आठ जना घाइते भएका थिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् ।
गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा अन्य ८ जना घाइते भएका छन् । स्थानीयवासी सुरेन्द्रप्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका छन् ।
सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको थियो ।


  •  
  •  
  •