पुनः श्रम स्वीकृतिका लागि कम्पनीको एनओसी अनिवार्य

428
  •  
  •  
  •  

काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृतिका लागि कम्पनीको नो अब्जेक्सन लेटर (एनओसी) अनिवार्य गरिएको जनाएको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट सिर्जित समस्यामा रोजगारी सुनिश्चित होस् भन्ने अभिप्रायले रोजगारदाताबाट रोजगार ग्यारेन्टी पत्र तथा एनओसी अनिवार्य गरिएको हो।

विभागले पुनः श्रम स्वीकृति अनलाईन प्रणालीमार्फत् दिन सुरु गरिसकेको छ। विभागले अर्को निर्णय नगरुन्जेलसम्मका लागि अनलाईनमार्फत् पुनः श्रम स्वीकृति लिँदा एनओसी अथवा रोजगार ग्यारेन्टी पत्र समावेश गर्न विभागले सेवाग्राहीहरुलाई आग्रह गरेको छ।

यसैबीच विभागले वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम म्यानपावर कम्पनीको आधिकारिक बैंक खातामा मात्रै जम्मा गर्न आग्रह गरेको छ ।
विभागले पछि आवस्यक पर्दा आफूले कति रकम बुझाएँ भन्ने प्रमाण नहुँदा श्रमिक स्वयमलाई समस्या हुने गरेको भन्दै आधिकारिक खातामा मात्र पैसा जम्मा गर्न र पैसा बुझाएको भौचर वा रसिद आफैसँग राख्न आग्रह गरेको हो ।

यस्तै विभागले वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई अन्तर्वार्ता छनौट भएपछि मात्र म्यानपावर कम्पनीलाई आफ्नो सक्कली राहदानी बुझाउन पनि आग्रह गरेको छ । अन्तर्वार्तामा छनोट नभइ आफ्नो सक्कली राहदानी लगायत कागजात नबुझाउन र चाहिएकै खण्डमा प्रतिलिपी बुझाउन विभागले आग्रह गरेको हो ।

इजाजतप्राप्त म्यानपावर कम्पनीलाई पनि श्रमिकहरुबाट लिने रकम संस्थाको बैंक खातामार्फत गराउन निर्देशन दिएको छ । यस्तै छनौट भएका श्रमिकबाहेक अरुको सक्कल राहदानी तथा कागजातको सक्कल प्रतिलिपि राख्ने काम नगर्न विभागलाई सूचीत गरेको छ ।

वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई आफू कुन देश जान लागेको र के काम हो भन्ने कुराको राम्रोसँग जानकारी लिएर तथा कसैको प्रलोभनमा नपरेर जान विभागले आग्रह गरेको छ ।


  •  
  •  
  •