चीनबाट उद्धार गरिएका नेपालीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि

521
  •  
  •  
  •  

काठमाडौं । चीनबाट उद्धार गरेर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएका नेपालीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

नमुना परीक्षण गरिएका १७५ जनामध्ये कसैमा संक्रमण नपाइएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । उनीहरुको घाँटी र नाकको स्वाब नमूना परीक्षण गरिएको थियो । मन्त्रालयद्वारा आयोजित पत्रकारमा चीनबाट ल्याइएकाहरुमा कोरोना नभएको पुष्टि भएको जनाइएको हो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनमा उनीहरुलाई जसरी राखिएको थियो क्वारेन्टाइनमा पनि त्यसरी नै राखिएको बताए । क्वारेन्टाइनमा १ सय ३५ जना पुरुष र ४० जना महिला गरी १ सय ७५ जना रहेका छन् । प्रवक्ता श्रेष्ठका अनुसार गत ४, ५ र ६ गते राष्ट्रिय प्रयोगशालामा उनीहरुबाट लिइएको नमूना परीक्षण गरिएको हो।

स्वतन्त्र रुपमा चीनबाट आउने यात्रुहरुलाई विमानस्थलमा शरीरको तापक्रम जाँच गरिँदै आएको छ। सो क्रममा कसैमा कोरोनाको केही लक्षण देखिएमा थप परीक्षण गरिन्छ। समग्रमा चीनबाट आउने सबैलाई स्वास्थ्य निगरानीमा राखिने प्रवक्ता श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।


  •  
  •  
  •