काठमाडौं, १५ माघ(ओएनएस) : प्रधानमन्त्री निवासअघि सिठी जुलुस गर्ने आधा दर्जन बढी नेपाल विद्यार्थी संघका कार्यकर्तालाई मंगलबार पक्राउ परेका छन् ।
चिकित्सा शिक्षा विधेयकको विरोध तथा नेपाली कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालको खारेजी गर्ने सरकारको निर्णयको विरोध गर्दै नेविसंघले सिठी जुलुस निकालेको हुन् ।
जुलुसमा सहभागी नेविसंघका पुर्व केन्द्रीय सदस्य गणेश सापकोटा, केन्द्रीय सदस्य सशील भट्ट, निरञ्जन थापासहितका आधा दर्जनभन्दा बढी विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारको तीन नम्बर गेटअघि विरोध प्रदर्शनमा उत्रिएका उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको प्रहरीले बताएको छ ।
नेविसंघले दैनिक जसो विरोधका कार्यक्रम गर्दै आएको छ । आइतबार सुरक्षाकर्मीले जथाभावी चलाएको लाठीबाट संघका नेता तथा कार्यकर्ताहरु घाइते भएका भन्दै सोमबार पनि संघले प्रदर्शन गरेको हो ।