काठमाडौं १५ पुस ।
वन मन्त्रालयले जावलाखेलस्थित सदर चिडियाखाना साँघुरो भई समस्या भएपछि जतिसक्दो छिटो अन्यत्र सार्ने भएको छ । चिडियाखानाको १९ औँ वाषिर्कोत्सवका मन्त्रालयका सचिव शरदचन्द्र पौडेलले सार्ने काम तीव्र गतिमा अघि बढिरहेको बताए । ‘चिडियाखानाको विस्तार गर्न हामी प्रतिबद्ध भई अघि बढेका छौ,’ उनले भने ।
साँघुरो क्षेत्रका कारण जीवजन्तु तथा पशुपन्छीलाई समस्या भएको भन्दै चिडियाखानाकी व्यवस्थापक सरिता ज्ञवालीले चाँडै नै अन्यत्र सार्नु पर्नेमा जोड दिइन् । ‘साँघुरो खोरमा ४/४ वटा बाघ, गौडा, हात्ती, भालु, चितुवाजस्ता ठूला स्तनघारी प्राणीलाई सास्ती भएको छ’ उनले भनिन् । कुनै बेला सिंह, जेब्रा, कन्गारुजस्ता जीवजन्तुहरुसमेत भएको चिडियाखानामा अहिले दुर्लभ प्राणीहरु घटै गएका छन् ।
भक्तपुरका ७ वटा सामुदायिक वनले ओगटेको ३ सय हेक्टर क्षेत्रफलमा चिडियाखाना सार्ने तयारी भएको हो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा चिडियाखाना सार्न १ करोड बजेट छुट्याएको थियो । तर कानुन नबनाइदा त्यो बजेट खर्च हुन सकेन । जावलाखेलको चिडियाखाना ६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँ १ सय १५ प्रजातिका ७ सय ९३ स्तनधारी पक्षी, घस्रने र पानीमा तैरने जन्तु छन् । त्यस्तै १ सय १५ प्रजातिका ८ सय ५० अन्य जीवजन्तु पनि छन् । तर साघुरो ठाउँ भएका कारण वन्यजन्तुको खोर सुघार गर्न नसकेको कोषले बताउदै आएको छ ।
मानिस र जनावर बीच रोग संक्रमण हुने खतरा उतिकै छ । लोपोन्मुख सुचीकृत ३८ प्रजातिका दुर्लभ वन्यजन्तुको पनि उचित व्यवस्थापन हुन सकेको छैन । कृष्णसार, घडियाल गोही, बाह्रसिँगे जरायो, पाटे बाघ, एकसिंगे गैडा, हात्ति, अर्ना, वनमान्छे लगायत मुनाल, सुनगोहोरो, गिद्ध, मयूर पर्याप्त ठाउँ अभावका कारण कष्टकर जीवन विताउन बाध्य छन् । ठाउँ कै अभावले कोषले अन्य जीवजन्तु ल्याउन सकेको छैन ।
दैनिक ३ हजार दर्शक आउने गरेका छन् । गत वर्ष ९ करोड ४५ लाख रुपैयाँ आम्दानी भएकोमा कार्यालय व्यवस्थापन, वन्यजन्तु पालनपोषण र खोरका लागि ७ करोड ८८ लाख खर्चिएको कोषले जनायो । तत्कालिन प्रधानमन्त्री जुद्धशमशेर जबराबाट निजि चिडियाखानाको रुपमा सञ्चालित २००७ साल पछि नेपाल सरकारको स्वामित्वमा आयो र २०११ मा सर्वसाधारणलाई खुल्ला गरियो ।
कान्तिपुरबाट