काठमाडौ, १६ भदौ (ओएनएस) : जिम्बाब्बेमा जारी अष्ट्रेलिया, दक्षिण अफ्रिका र जिम्बाब्बेबीचको त्रिदिवसिय खेलका क्रममा आज भएको खेलमा अष्ट्रेलिया पराजित भएको छ । जिम्बाब्बेसँग भएको खेलमा अष्ट्रेलिया ३ विकेटले पराजित भएको हो । अष्ट्रेलियालाई ३१ वर्षपछि पराजित गर्दै जिम्बाब्बेले इतिहास रचेको छ ।
आजको खेलमा २ सय १० रनको विजय लक्ष्यका साथ मैदान उत्रेको जिम्बाब्बेले १२ बल बाँकी छँदा नै उक्त लक्ष्य भेट्टाएको थियो । जिम्बाब्बेको जीतमा कप्तान इल्टन चिगम्बुराले अविजित ५२ रन र उत्सेयाले अविजित ३० रन जोड्दा ५५ रनको साझेदारी गरेका थिए । यस्तै, ब्रेण्डन टेलरले ३२ रन, सिकन्दर साजाले २२ रन जोडेका थिए । अष्ट्रेलियाका लागि लियोनले ४ विकेट लिएका थिए भने स्टार्कले २ र म्याकवेलले १ विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा आफ्ना ९ विकेट गुमाउँदै मात्र २ सय ९ को योगफल तयार पारेको थियो । उसका लागी कप्तान माइकल क्लार्कले रिटायर्ड हर्ट हुनुअघि सर्वाधिक ६८ रन जोडेका थिए । यस्तै, ब्राड हेडनले ४९ रन, बेन कटिङले २६ रन जोडेका थिए । अष्ट्रेलियालाई उक्त स्कोरमा रोक्नका लागि जिम्बाब्बेका उत्सेया, तिरिपानो र विलियम्सले समान २-२ विकेट लिएका थिए । यस्तै, निम्बु र वालरले समान १-१ विकेट लिएका थिए ।
अष्ट्रेलियाले ९७ रनमा ५ विकेट गुमाएको अवस्थामा माइकल क्लार्क र ब्राड हेडेनले ५० रनको साझेदारी गरेपछि अष्ट्रेलिया खेलमा फर्किने प्रयास गरेको थियो । आजको खेलमा अष्ट्रेलियाली ब्याटस्म्यान स्पिनरसामू निरिह बनेका थिए ।
प्रतियोगिताको म्यान अफ द म्याच कप्तान चिगम्बुरा घोषित भएका छन् ।
अष्ट्रेलियाका लागि आजको खेलमा बनाएको योगफल अहिलेसम्मकै सबैभन्दा कम हो । यसअघि जिम्बाब्बेविरूद्धको खेलमा सबैभन्दा कम योगफल २ सय २५ थियो ।
यसअघि पनि यही श्रृंखलाका क्रममा दक्षिण अफ्रिकाविरूद्ध ३ सय २७ रन जोड्दा समेत हार बेहोर्न पुगेको थियो ।