काठमाडौ, ११ फागुन (ओएनएस) : नेकपा एमालेको भातृ संगठन युवा संघ फुट नजिक पुगेको छ ।
संस्थापनले केन्द्रीय समितिको बैठक बोलाएकै समयमा असन्तुष्ट पक्षले अर्काे बैठक राखेपछि युवा संघको विवाद उत्कर्षमा पुगेको हो ।
नीरु पाललाई अध्यक्ष बनाएपछि असन्तुष्ट बनेको उपाध्यक्ष दिलु पन्त नेतृत्वको समूहले बानेश्वरको होटल अर्यालमा समानान्तर बैठक राखेपछि युवा संघ विभाजन उन्मुख भएको हो । विधान विपरित एकपक्षीय रुपमा पदीय भागभण्डा गरिएको असन्तुष्ट पक्षको आरोप छ ।
युवा संघका केन्दीय सदस्य नरेशकुमार शाहीले संस्थानपन पक्षले संघको विधान विपरित काम गरिएकाले छुट्टै बैठक राखेको जानकारी दिए ।
उनले विधान विपरितको कदम नसच्चिएसम्म संस्थापन पक्षको बैठकमा कुनै पनि हालतमा सहभागि नहुने बताए । ‘संघमा विधान विपरित काम भएकाले त्यसबारे छलफल गर्न भेला राखिएको हो । ’ शाहीले भने ।
असन्तुष्ट पक्षले समानान्तर कमिटि घोषणा गर्ने बताइएको छ । यता संस्थापन पक्षले बानेश्वरकै अल्फाविटा कम्प्लेक्समा बैठक राखेको छ । संस्थापन पक्षले सबै पदाधिकारी तथा सदस्यलाई आमन्त्रण गरेको जनाउँदै चित्त नबुझेका कुरा बैठकमा राख्न आग्रह गरेको बताइएको छ ।
तर, संघलाई विभाजित गर्दै समान्तरण बैठक गरिए असन्तुष्ट पक्षलाई कारवाहि गर्ने संस्थापन पक्षले चेतावनी दिएको छ ।
अध्यक्ष महेश बस्नेतले राजीनामा दिएपछि रिक्त रहेको पदमा पाललाई नियुक्त गरिएपछि पन्त समूहले विरोध जनाउँदै आएको छ ।