युवा संघको दुवै भेला स्थगित गर्न एमाले युवा फाँटको विशेष निर्देशन

272
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (ओएनएस) : नेकपा एमालेको भातृ संगठन युवा संघमा देखिएको विवाद अन्त्य गर्न पार्टीको युवा फाँटले विशेष निर्देशन दिएको छ । एमाले युवा फाँटका प्रमुख शेरबहादुर तामाङले युवा संघको विवाद अन्त्य गर्नको लागि शुक्रबार एक विज्ञप्ति जारी गर्दै विशेष निर्देशन दिएका हुन् ।

संघको संस्थापन पक्षले शनिबार र आइतबार हेटौडामा बोलाएको भोला स्थगित गर्दै सोहि स्थानमा स्थानीय पार्टी कमिटिको आयोजनामा जनसभा गर्न तामाङले निर्देशन दिएका छन् । साथै, असन्तुष्ट पक्षले काठमाडौंमा बोलाएको समानान्तर बैठक पनि स्थागित गर्न तामाङले निर्देशन दिएका छन् ।

‘यहि चैत ७ गते हेटौडामा स्थानीय पार्टी कमिटिको आयोजनामा जनसभा गर्ने र सो जनसभालाई भव्यता एवं सफलताका साथ सम्पन्न गर्न युवा संघ नेपालका नेता तथा कार्याकर्तालाई सक्रिया भूमिका निर्वाह गर्ने । ’ तामाङले दिएको विशेष निर्देशनमा भनिएको छ, ‘चैत ७ र ८ गते हेटौडामा युवा संघद्वारा परिषदको बैठक र केन्द्रीय कमिटिको बिस्तारित बैठक हाललाई स्थगित गर्ने । त्यसैगरी असन्तुष्टहरुले सोहि अवधिमा काठमाडौंमा आयोजना गर्ने भनि प्रचार गरिएको समानान्तर भेला स्थगित गर्ने । ’ साथै तामाङले युवा संघमा देखिएको विवाद अन्त्य गर्नको लागि पार्टीको स्थायी समितिलाई समेत अनुरोध गरेका छन् ।

यसअघि तामाङले बिहिबार दुबै पक्षलाई भेला स्थगित गर्न निर्देशन दिएपनि भेला स्थगित हुने संकेत नदेखिएपछि शुक्रबार विशेष निर्देशन दिएका हुन् । संघकी अध्यक्ष निरु पाल र उपाध्यक्ष दिलु घर्ती पक्षबीच विवाद बढ्दै जाँदा दुबै पक्षले शनिबार र आइतबार समानानतर भेला बोलाएका थिए ।

Yuba Shangh


  •  
  •  
  •