डा.खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

467
  •  
  •  
  •  

काठमाडौं । सरकारले पूर्वअर्थमन्त्री डा. युवाराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी विशेष सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीका विश्वासपात्र खतिवडाले सांसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण राजीनामा दिएका थिए।

राष्ट्रिय सभा सदस्य हुँदा दुई वर्ष अर्थमन्त्री बनेका खतिवडालाई प्रधानमन्त्री ओलीले सांसद नहुँदा पनि ६ महिनाका लागि अर्थमन्त्री बनाएका थिए। उनलाई फेरि राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने चर्चा भए पनि नेकपाको सचिवालय बैठकले गत संसदीय चुनावमा बर्दियाबाट पराजित उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो।
यस्तै सरकारले एसिड आक्रमणमा परेका पीडितहरूको उपचार र ओषधीको सबै खर्च व्यहोर्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकले एसिड आक्रमणकारीलाई सजाय, आयात निर्यात र बिक्री वितरणका लागि नयाँ ऐन बनाउने निर्णय गरेको ज्ञवालीले जानकारी दिए।

ज्ञवालीका अनुसार मन्त्रिपरिषद्ले पीडितको उपचार खर्च र जीवनभर प्रयोग गर्नु पर्ने औषधीको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ।

त्यस्तै त्रिवि शिक्षण, वीर अस्पताल, पाटन र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पताल तोकेको छ। त्यस्ता पीडितको उच्च शिक्षा निस्शुल्क दिने व्यवस्था मिलाइने पनि ज्ञवालीले बताए।
यस्तै मन्त्रिपरिषद बैठकले असोज १ देखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने निर्णय गरेको छ । तर यी व्यवसाय सञ्चालन गर्दा कोरोनाको सुरक्षा सम्वन्धी मापदण्ड पालना गर्नुपर्नेछ।

ग्राहकले भौतिक दूरी कायम गर्न सक्नेगरी होटल रेष्टुरेन्टमा भौतिक संरचना व्यवस्थापन गर्नुपर्नेछ। सुरक्षाका उपाय अवलम्वन भए नभएकोबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमन गर्नेछ।

चैत ११ गते लकडाउन गरिएपछि सबै होटल तथा रेष्टुरेन्ट बन्द रहँदै आएका थिए। बीचमा साउन १५ गतेदेखि यस्ता व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएपछि विभिन्न जिल्ला प्रशासनले निषेधाज्ञा लागू गरेपछि पुनः बन्द गर्न बाध्य पारिएको थियो।

जिमखाना, सिनेमा घर, चिडियाखाना, शैलुन, स्पाजस्ता व्यवसाय भने तत्काल सञ्चालन गर्न नपाइने ज्ञवालीले बताए। अर्को निर्णय नहुञ्जेलसम्म यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने प्रवक्ता ज्ञवालीले बताए ।


  •  
  •  
  •