दलदलमा टिनएजर

46
  •  
  •  
  •  

काठमाडौं २४ भदौ । ‘यस्तो होला भन्ने कल्पनै थिएन,’ चियाबारीमा गाँजा तानिरहँदा पक्राउ परेका तीन युवा केही दिनअघि प्रहरी हिरासतमा भन्दै थिए, ‘आइन्दा भुलेर पनि यस्तो काम गर्दैनौं।’ कलेज जाने उमेरका युवा गाँजामार्फत् दुर्व्यसनमा फस्दै गरेको भेटेपछि प्रहरीले उनीहरूलाई एक रात हिरासतमा राख्यो। डेढ महिनाअघिको घटनामा समातिएका उनीहरुलाई प्रहरीले सम्झाइ–बुझाइ गरेर भोलिपल्टै परिवारको जिम्मा लगाइदियो। लागुऔषध प्रयोगकर्ताविरुद्ध कठोर बनेको इलाम प्रहरीले नौ महिनायता १५ जनालाई पक्रिसकेको छ। तीमध्ये १३ जना इलाम कारागारमा कैद भुक्तान गरिरहेका छन्। दुई जना पुर्पक्षका लागि हिरासतमा छन्।’पक्राउ परेकालाई ६ वर्षसम्म कैद हुन सक्छ,’ जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटका सई मनीष थापा भन्छन्, ‘लागुऔषधको जालो भत्काउन पनि उनीहरूलाई सजाय दिनैपर्छ।’पूर्वका धेरै युवा रक्सी र गाँजा तान्न साइत कुर्दैनन्। कलेज पढ्ने कतिपय बिस्तारै हेरोइन र सिरिन्जको लतमा छन्। अपराध नियन्त्रणमा प्रहरी सक्रिय भइरहे पनि लागुऔषध प्रयोगकर्ता भने घट्नुको साटो बढिरहेका छन्। पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआइजी नवराज सिलवालले केही महिनाअघि इलाममा आजित हुँदै भनेका थिए, ‘लागुऔषध प्रयोगकर्तालाई त पक्रिनै छाड्यौं।’ कानुनले लागुऔषध प्रयोगकर्तालाई पक्रिने, ३० दिन थुन्ने र जरिवाना गर्ने अधिकार दिँदादिँदै प्रहरी मूकदर्शक बन्नुपर्ने कारण हो– दुर्व्यसनीको संख्या अत्यधिक दरमा बढ्नु। प्रहरीका अनुसार तराईतिरका स्कुल, कलेज परिसरका चिया र मिठाइपसलदेखि शौचालय र पार्कमा गाँजा, चरेस तानिरहेका दृश्य अचेल सामान्य लाग्छन्।अभिभावकबाट अनेक बहानामा पैसा फुत्काएर जोगवनी, काँकरभिट्टा, पशुपतिनगर नाकाबाट सीमापारि गएर लागुऔषध खरिद गर्नेहरू बढ्दो छन्।

यस क्रममा सयौं युवा पक्राउ पर्ने, छुट्ने र फेरि पक्राउ पर्ने क्रम दोहोरिइरहन्छ। गृह मन्त्रालयका अनुसार मुलुकमा हरेक वर्ष ९ हजारका दरले बढिरहेको दुर्व्यसनी संख्या अहिले ९२ हजार पुगिसकेको छ। त्यसमा महिलाको संख्या नै ७ हजार छ।’नेपालमा लागुऔषध नियन्त्रणका कुनै पनि प्रयास सफल भएनन्, यस्तै भयावह अवस्था रहिरहे अर्को पुस्ता सकिने निश्चित छ,’ तराईका युवामा फैलिएको कुलत पहाडतिर सरिरहेको जनाउँदै डिआइजी सिलवाल भन्छन्, ‘राज्य सचेत नभए अर्को पुस्ता कुलतको डरलाग्दो घेराबाट उम्किनै सक्दैन।’

तराईका सिरहा, सप्तरी, धनुषा, पर्सा, रुपन्देही, बाँकेलगायत जिल्लामा कलेज पढ्ने युवा लागुऔषधले नराम्ररी प्रभावित छन्, यो क्रम इलाम, पाँचथर र ताप्लेजुङतिर पनि फैलिँदो छ। पूर्वमा खुलेका सुधारकेन्द्रमा अचेल लागुऔषधभन्दा रक्सी (अल्कोहोल) प्रयोगकर्ता बढी जाने गरेका छन्, जसमा कलेज पढ्ने उमेरका बढी हुन्छन्। यस्तै एउटा केन्द्र बिर्तामोडस्थित न्यु होप फाउन्डेसनका अध्यक्ष बलराम पनेरुका अनुसार अत्यधिक रक्सी सेवनले जीवन बर्बाद बनाएर उपचारमा आउने बढेको बढ्यै छन्।एकपल्टमा ४५ जना अटाउने क्षमताको उनको सुधारकेन्द्रमा उपचाररत ३५ दुर्व्यसनीमध्ये आधाभन्दा धेरै अल्कोहोलिक छन्।

११ वर्षअघि खुलेको उक्त केन्द्रमा सुरुका चार वर्ष मात्रै लागुऔषध प्रयोगकर्ता धेरै रहेको र अहिले अल्कोहोलिक बढेको पनेरु बताउँछन्। धरान, इटहरी, विराटनगर, उर्लाबारी, दमक र बिर्तामोडमा थुप्रै पुनःस्थापना केन्द्र छन्, जहाँ कुलतमा फसेका युवालाई अभिभावकले ‘सप्रिऊन्’ भनेर राखेका छन्। न्यूनतम ९० दिन बस्नुपर्ने त्यस्ता केन्द्रमा दुर्व्यसनविरुद्ध थुप्रै परामर्श दिइए पनि निस्केपछि धेरै युवा कुलतमुक्त हुँदैनन्।’दुर्व्यसनमा फस्न जति सजिलो हुन्छ, निस्कन बहुतै कठिन,’ सम्भ्रान्तदेखि सामान्य परिवारका युवामा फैलिइरहेको डरलाग्दो समस्याबारे पनेरु भन्छन्, ‘अन्तरहृदयदेखि सुध्रिन नचाहे पुनःस्थापना केन्द्रले कुनै पार लगाउँदैन।’ इलाममा पनि रिह्याभ सेन्टर खोल्न पूर्व दुर्व्यसनी नै सक्रिय देखिन्छन्। नागरिकबाट


  •  
  •  
  •