पत्रकार सम्मेलनमै युवा नेताहरुबीच ‘दोहोरी’

246
  •  
  •  
  •  

काठमाडौं, २१ असार (ओएनएस) । नेकपा एमालेको महाधिवेशनले नेतृत्व चयन गर्न केही दिनमात्रै बाँकी रहँदा युवा नेताहरुले भने आ–आफ्नै पक्षका नेताहरु विजयी हुने दावी गरेका छन् । यो दावीसँगै यतिवेला एमालेमा युवा पंक्तिमा तीव्र ध्रुवीकरण बढ्दै गएको छ ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै युवा नेताहरुले आ–आफ्नै पक्षका नेताले वीजय हासिल गर्ने दावी गरे । कार्यक्रममा बोल्दै माधव समूहका सचिवका उम्मेदवार पशुराम मेघी गुरुङले मुलुकलाई समाजवादको बाटोमा डोर्याउन पनि नयाँ नेतृत्वको आवाश्यकता रहेको र त्यसको नेतृत्व माधव नेपालले गर्न सक्ने बताए । उनले भने, ‘माधव नेपाल भनेको अग्रगामी नेतृत्वकर्ता हो । प्रतिनिधिहरु सवल, सक्षम र विवेकशील छन्, उहाँहरुले आफ्नो विवेक प्रयोग गर्दै माधव नेपाललाई अध्यक्ष बनाउनुहुन्छ । यसमा दुईमत छैन् । महाधिवेशन हलभित्रको माहोलले पनि त्यो बताउँछ ।’

अर्का ओली समूहका नेता कैलाश ढुंगेलले नेकपा एमालेमा कस्तो नेताभन्दा पनि कस्तो विचार बोकेको नेतृत्व भन्ने कुरा महत्वपूर्ण भएको भन्दै पार्टीलाई एकताबद्ध रुपमा अगाडी बढाउन पनि केपी शर्मा ओलीको विकल्प नभएको बताए । कार्यक्रममा माधव नेपाल पक्षका नेता ठाकुर गैरेले एमालेमा यतिवेला कसलाई नेता बनाउने भन्दा पनि कस्तो नेतृत्व चाहीएको छ भन्ने कुरा महत्वपूर्ण हुने भन्दै पार्टीलाई युग सापेक्ष बनाउन सक्ने नेता माधव नेपाल भएकोले उनको विकल्प नभएको बताए । उनले भने– देशभरि नै अहिले माधव नेपालको पक्षमा लहर छ । कार्यकर्ताहरुले माधव नेपालको नेतृत्वबाट पार्टी एकताबद्ध हुने विश्वास लिएका छन् र देशको समृद्धिका लागि पनि नवौं महाधिवेशनले उहाँलाई अध्यक्ष बनाउने पक्का छ ।

नेपाल पक्षीय महिला नेतृ रामकुमारी झाँक्रीले नवौं महाधिवेशन व्यक्ति छनोट नभएर विचार छनौट भएको दावी गर्दै पार्टीलाई गति दिन सक्ने नेताको आवाश्यकत्ता रहेको भन्दै त्यसको नेतृत्व माधव नेपालले मात्रै गर्न सक्ने ठोकुवा गरिन् ।

ओली पक्षीय युवा नेता शेरधन राईले मुलुकलाई सही दिशाबोधमा हिडाउन सक्ने नेता आली नै भएको कारण नवौं महाधिवेशनबाट ओली अध्यक्ष बन्ने सुनिश्चित भएको दावी गरे । विचार, नेतृत्व र संगठनका हिसावले केपी ओली अहिलेको राष्ट्रिय राजनीतिको आवाश्यकत्ता भएको हुनाले उहाँलाई अध्यक्ष बन्न कसैले नरोक्ने बताए ।


  •  
  •  
  •