विदेश राज्यमन्त्रीमाथि पनि याैन दुर्व्यवहारको आरोप

460
  •  
  •  
  •  

काठमाडौं, २५ असाेज (एजेन्सी) : भारतमा महिला हिंसाविरुद्धको ‘मी टु’ अभियान चलिरहेका बेला बलिउडमा मच्चाएकाे सनसनीले अन्य पीडितहरु पनि विगतमा अाफुसँग भएकाे याैन दुर्व्यवहारकाे खुलेर बाेल्न थालेका छन्। यसै क्रममा विदेश राज्यमन्त्री एमजे अकबरलाई पनि ‘हिंस्रक व्यवहार’ गरेको आरोप लागेको छ  ।

बैठकमा नाममा महिलालाई होटलको कोठामा बोलाएर दुव्र्यवहार गरेको आरोप उनीमाथि लागेको हो । यसबारेमा अकबर तथा विदेश मन्त्रालयले बुधबारसम्म प्रतिक्रिया दिएका छैनन् । केन्द्रीय महिला एवं बाल कल्याण मन्त्री मेनका गान्धीले भने राजनेतामाथि लागेको आरोपबारे छानबिन हुनुपर्ने बताएकी छन् । अकबर भारतका प्रभावशाली सम्पादक मानिन्छन् ।

उनी द टेलिग्राफ तथा द एसियन एजका सम्पादक तथा इन्डिया टुडेका एडिटोरियल डाइरेक्टर रहिसकेका छन् । अकबरको नाम सबैभन्दा पहिले वरिष्ठ पत्रकार प्रिया रमानीले लिएकी थिइन् । उनले एक वर्ष पहिले भोग इन्डियाका लागि लेखेको लेख रिट्वीट गर्दै उत्पीडनको अनुभव सार्वजनिक गरेकी थिइन् । रमानीले आफ्नो मूल लेखमा अकबरको नाम लिएकी थिइनन् । तर सोमबार ट्वीट गर्दै उक्त लेख अकबरकै बारेमा भएको खुलासा गरेकी हुन् । रमानीपछि अन्य ५ महिलाले पनि राज्यमन्त्री अकबरसँग जोडिएका आफ्ना अनुभव सार्वजनिक गरेका छन् ।

पत्रकार रमानीले उक्त लेखमा आफू २३ वर्षको हुँदा अकबरले जागिरको अन्तर्वार्ताका लागि मुम्बई होटलमा बोलाएको उल्लेख गरेकी छन् । नाम सार्वजनिक गर्न नचाहेकी अर्की एक पत्रकारले पनि अकबरले होटलको बेडमा बसेर अन्तर्वार्ता लिएको र त्यसपछि मदिरा सेवन गर्न अफर गरेको बताएकी छन् । अर्की पत्रकार प्रेरणासिंह विन्द्राले अकबरको यौन प्रस्ताव अस्वीकार गर्दा आफ्नो जीवन नरक बनाएको टिप्पणी गरेकी छिन् ।


  •  
  •  
  •