दुई हत्याका आरोपी एमालेको संरक्षणमा

157
  •  
  •  
  •  

umlजनकपुरधाम, ४ बैशाख : प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य योगनारायण यादवलाई एमालेले नै संरक्षण दिएको रहस्य खुलेको छ ।

चैत ८ गते धनुषाको सबैला नगरपालिका–१ मा मदन आश्रित निमाविको व्यवस्थापन समितिको विवादको क्रममा यादवकै निर्देशनमा दुईजनाको हत्या भएपछि प्रहरीले यादवलाई खोजिरहेको छ ।

घटनालगत्तै फरार यादवलाई खोजी गर्न अन्य जिल्लामा पनि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यादवलाई खोज्दा खोज्दा प्रहरी हैरान भइरहेका बेला एमालेका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रीप्रसाद साहले योगनारायण पार्टीको केन्द्रीय नेताहरुको सम्पर्कमा रहेको बताएका छन् ।

विहीबार एमाले धनुषा जिल्ला कार्यसमितिद्धारा आयोजित पत्रकार सम्मेलनमा जिल्ला ईन्चार्ज साहले प्रहरीको अनुसन्धानमाथि विश्वास नरहेकाले योगनारायणलाई प्रहरीसमक्ष आउन नदिइएको बताए ।

‘मुद्दा अदालतमा गएपछि हाम्रा नेता आफैं उपस्थित हुन्छन्’, उनले भने, ‘प्रहरीमाथि हामीलाई भरोसा छैन ।’

एमाले अध्यक्ष केपी ओलीनिकट मानिएका योगनारायण गृहमन्त्री वामदेव गौतमकै संरक्षणमा रहेको स्रोतले बताएको छ । सबैलामा दबङ्ग नेताका रुपमा परिचित योगनारायणलाई समात्ने काम प्रहरीको सजिलो नरहेको सबैलावासीहरुको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिको चुनावको क्रममा आफ्नो पक्षका मानिस अध्यक्ष बन्न पाउनुपर्ने विषयमा विवाद भएपछि योगनारायण नेतृत्वमा रहेका करिब २५ जनाको समूहले अर्को पक्षमाथि आक्रमण गरेको थियो ।

झडपको क्रममा गम्भीर घाइते भएका रामसेवक राउत गडेरीको उपचारको क्रममा काठमाडौं लाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सोही राति स्थानीय रामप्रकाश यादवको गोली हानी रहस्मय तरिकाले हत्या गरिएको थियो । घटनामा १२ जनाभन्दा बढी गाउँले घाइते भएका थिए ।

सोही घटनामा संलग्न रहेको भन्दै जिप्रका धनुषामा सिकिल देवी र श्याम किशोर साहले योगनारायणमाथि कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेका हुन् ।

यादवसँगै उनका भाइहरु र एमालेका नेता कार्यकर्तासहित २४ जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ ।

घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको र चाँडै सबैलाई पक्राउ गरी सत्यतथ्य बाहिर ल्याइने हत्याकाण्डको अनुसन्धान गर्न गठित छानविन समितिका संयोजक प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाइँले बताएका छन् ।


  •  
  •  
  •