विमानस्थल निर्माणमा अवरोध आए मान्य हुनेछैन : मन्त्री भट्टराई

372
  •  
  •  
  •  

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी २०१९ डिसेम्बर ३० सम्म सम्पन्न गर्न निर्देशन दिएका छन् ।

मन्त्री नियुक्त भएपछि पहिलोपटक पर्यटकीय क्षेत्र अवलोनकका लागि बुटवल आएका मन्त्री भट्टराईले

भ्रमण वर्ष २०२० मनाउने कार्यक्रम रहेकोले भ्रमण वर्ष सफल हुन्छ भन्ने विषयसँग विमानस्थल र लुम्बिनी जोडिएको समेत बताए ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका कामहरु निरीक्षण गर्ने क्रममा मन्त्री भट्टराईले सिंगो मुलुकले यस विमानस्थलबाट फाइदा लिनेमा जोड दिए ।

उनले अझ प्रदेश सरकार, स्थानीय सरकार र नागरिकले नजिकबाट फाइदा लिने बताए ।

प्रदेश सरकार र स्थानीय तहले केन्द्र सरकारलाई पछ्याउने र केन्द्रले स्थानीय र प्रदेशलाई पच्छ्याएर काम अगाडि नबढे यसले सिंगो मुलुकलाई नै घाटा हुने भएको उल्लेख गर्दै मन्त्री भट्टराईले संयुक्त पहलकदमी आवश्यक रहेको बताए ।

उनले विमानस्थल आयोजनालाई कुनै पनि सरकारी निकायबाट अवरोध आए मान्य नहुने बताए ।

प्रदेश ५ सरकारका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री लिला गिरी, प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले आयोजना समयमै सम्पन्न गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इञ्जिनीयर प्रवेश अधिकारीले नदीजन्य पदार्थ समयमा उपलब्ध नहुँदा पनि आयोजनालाई समस्या आएको बताएका थिए । उनले सरकारी निकायबीच समन्वयको आवश्यकता रहेको बताए ।


  •  
  •  
  •