काठमाडौँ, चैत(ओएनएस) : देशका वरिष्ठ र युवा पाँच कलाकारका बबरमहलस्थित नेपाल कला परिषद्मा बिहीबारदेखि चलिरहेको ‘ऐक्यबद्धता’ शीर्षक चित्र प्रदर्शनीले समसामयिक नेपाली कला र चित्रकलामा शक्तिशाली हैसियत छाड्ने देखिएको छ ।
नेपाल कला परिषद्, बबरमहलमा भएको प्रदर्शनीमा वरिष्ठ र युवा कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, नगेन्द्रप्रसाद पौड्याल, केशवराज खनाल, अनिता भट्टराई र देवेन्द्र थुम्केलीका ३२ वटा चित्र रहेका छन् जसका हरेक चित्रमा फरक फरक भाव पाइए पनि सामाजिक र राष्ट्रिय एकताका पक्षमा वकालत गरेका छन् । प्रदर्शनी यही चैत २३ गतेसम्म चल्ने छ ।
‘ब्रह्माण्ड’ र ‘जीवन’ विषयलाई लिएर कलाकार श्रेष्ठद्वारा तयार पारिएको चित्रमा चराचर जगतको ब्रह्माण्डसँगको अन्तरसम्बन्ध देखाइएको छ । प्रदर्शनीका संयोजक पनि रहेका श्रेष्ठ कवि पनि हुन् । ‘ऐक्यबद्धता’ शीर्षकको प्रदर्शनीले सिर्जनात्मक संवेग, समर्पण र खास समय सन्दर्भलाई सङ्केत गर्ने उनी बताउँछन् । उनको ४० हजारको एक चित्र बिक्री भइसकेको छ । कलाकार पौड्यालले पूर्वीय मूल्य र मान्यतालाई रङ र विम्बका माध्यमबाट अभिव्यक्त गरेका छन् । ‘ओममणि पद्मे हुँ’, ‘धर्म’, ‘यज्ञ’, ‘दसैँ’ र ‘शिव’ शीर्षकका ती चित्रमा आध्यात्मिक प्रतीक र विम्बको प्रयोग गरिएको छ ।
नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष रहेका कलाकार खनालले अव्यवस्थित सहरीकरणले हाम्रा सामाजिक मूल्य र मान्यता तथा संस्कृतिमाथि गरेको हस्तक्षेपलार्ई च्याउको विम्ब मार्फत सटिक र सरल रुपमा प्रस्तुत गरेका छन् । च्याउ झैँ उम्रिएका भवनहरुले हाम्रो सभ्यतालाई नै चुनौती दिइरहेको भाव त्यसमा पाइन्छ । कलाकार भट्टराईका ‘गणेश’, ‘टुँडाल’,‘तारा र तरङ्ग’ तथा ‘पुतली र नारी’ शीर्षकका चित्रले प्रायः नारी स्वतन्त्रता र शक्तिलाई प्रस्तुत गरेका छन् । केशवराज र अनिता दम्पती पनि हुन् ।
त्यस्तै, थुम्केलीले समाजको खराब पक्षलाई ‘मुखुण्डो’बाट सिर्जनात्मक रुपमा उतारेका छन् । यहाँ दैनिकजसो हुने चोरी, लुट र न्यायको हत्या चित्रमा अभिव्यक्त भएको पाइन्छ । “प्रायः हरेक मानवभित्र बाहिर एउटा र भित्र एउटा रुप हुने गर्छ, मानिसमा रहेको कालो स्वार्थ आम प्रवृत्ति हो र मानिसमा समयलाई नै आफूमा केन्द्रित गर्ने स्वभाव छ, तर पनि सुनौलो भविष्यको आशा गर्न सकिन्छ”, नेपाल ललितकला पत्रकार समाजका महासचिव थुम्केली भन्छन् ।
आयोजक जरा फाउन्डेसनका महासचिव महेश पौड्याल रङ, तुलिकाघात र दृष्टिकोणको सारग्रही संयोेजनबाट तयार गरिएका ती चित्रले हाम्रो समयका विविध पक्षलाई कलाका माध्यमबाट अगाडि ल्याएको बताउँछन् । “अनिश्चयता, स्वभावगत ढुलमुलेपन तथा वर्तमान र भविष्यको द्वन्द्वले आखिर आशा, समाधान र निष्कर्ष निकाल्ने नै छ ”, उनको ठम्याइ छ ।