पुनःनिर्माणका लागि विषेश टोली परिचालन गर्ने वाइसिएलको निर्णय

123
  •  
  •  
  •  

काठमाडौँ, ३० बैशाख(ओएनएस) : एमाओवादीको सहायक सङ्गठन योङ कम्युनिस्ट लिग(वाइसिएल)ले भूकम्प प्रभावित १४ जिल्लामा पुनःनिर्माणका लागि विशेष टोली परिचलन गर्ने निर्णय गरेको छ ।

वाइसिएलको गत २८ गते सम्पन्न केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले भूकम्प प्रभावित जिल्लामा पुनःनिर्माणमा सहयोग पुर्‍याउन प्राविधिक सदस्यसहितको टोली परिचालन गर्ने निर्णय गरेको हो । टोलीमा रहने सङ्ख्या भने सम्बन्धित जिल्लाको समन्वयमा गर्ने निर्णय गरेको छ ।

पुनःनिर्माणमा जनपरिचालन गर्ने लक्ष्यअनुसार विशेष योजनाका साथ १४ वटै जिल्लामा वाइसिएलका सदस्य परिचालित हुने छ । यस्तै, आगामी बर्खायाममा हुनसक्ने प्राकृतिक विपत्ति, बाढीपहिरो तथा अन्य जुनसुकै विपत्तिलाई सामना गर्नका लागि पनि तम्मतयारी हालतमा रहने र विशेष संयन्त्र नै निर्माण गरिने छ । ७५ वटै जिल्लामा त्यसखालको संयन्त्र निर्माण गरिनेछ ।

सरकारले पुनःनिर्माणका लागि जनपरिचालन गर्ने लक्ष्यसमेत अगाडि सारिएका बेला वाइसिएलले सरकारलाई सहयोग नै पुग्ने गरी आफ्नो कार्यक्रम केन्द्रित छ ।

यस्तै, वाइसिएलको सङ्गठन सुदृढीकरण गर्ने तथा रचनात्मक काममा परिचालन गर्ने समेत निर्णय भएको छ । यस्तै, वाइसिएलकै पहलमा भएको स्वतस्फूर्त परिचालनका कारण एनसेलले पुँजीगत लाभकर तिर्न तयार भएको स्पष्ट पार्दै बाँकी रहेको कर समयमै तिर्नसमेत सचेत गराएको छ ।

यस्तै, वाइसीएलले कालोबजारी घुसखोरी र भ्रस्टाचारविरूद्ध राष्ट्रिय अभियान संचालन गर्ने समेत निर्णय गरेको छ साथै जनताको हरेक समस्यामा वाइसिएलको उपस्थिति रहने छ ।

साथै, वाइसीएललाई साथी बनौं अभियान जनस्थरसम्म लगदै अझै सुदृढ वाइसीएल निर्माण गर्दै गाउँ टोल बस्ती नगर जिल्ला देखि प्रदेशसम्म कमिटी निर्माण गर्दै जाने भएको छ । त्यस्तै, वाइसिएलका अध्यक्ष विज्ञानले राजनीतिक तथा आगामी काम कारबाही र रणनीति विषयक प्रतिवेदन समेत राख्नु भएको थियो ।

वाइसिएलको केन्द्रीय समितिको पूर्ण बैठकको उद्घाटन आइतबार २६ गते एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय कार्यलय पेरिसडाँडा काठमाडौंमा गरेका थिए ।


  •  
  •  
  •