काठमाडौं २१ जेठ (ओएनएस) : कामको खोजीमा विदेशिने करिब १५ सय युवाको अवस्था निकै जोखिमपूर्ण तथा अव्यवस्थित भएको बताइएको छ।
यसरी देशभित्र काम नपाएर विदेशिएका झण्डै ३० लाख नेपाली युवाले पठाउने अर्बौं रुपैयाँको रेमिट्यान्स अर्थात् विप्रेषणले अर्थतन्त्र धानिएको छ तर तिनै युवा अत्यन्तै जोखिममा रहेको अधिकारीहरु समेत स्वीकार्छन्।
ठगीमा पर्ने, भनेको काम नदिने तथा कार्यस्थलमा हुने दुर्घटनाजस्ता जोखिमका बीच ती युवाले काम गर्नुपरेको बताइन्छ।
सरकारी तथ्यांक अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीका दैनिक सरदर चार वटा शव मुलुक भित्रिनेमात्रै होइन बाँचेकाहरु पनि अनेकौं पीडाका कथा लिएर फर्कन्छन्।
आंकडा
१६ देखि ४० वर्ष उमेरका सक्रिय जनशक्ति खाडी मुलुक, भारत तथा अन्य देशहरुमा पसिना बगाइरहेका छन्। नेपालमा यो उमेर समूहका युवाहरु झण्डै ४० प्रतिशत रहेको आंकडा छ। अधिकांश युवा निम्न तलब र जोखिमयुक्त श्रममा काम गर्न वाध्य भएको विवरण बारम्बार आउने गर्छन्।
सरकारले झण्डै ३० लाखको हाराहारीमा युवाहरु विदेशमा रहेको आंकलन गरे पनि युवासम्बन्धी काम गर्ने गैरसरकारी संस्थाहरुले भने त्यो संख्या ५० लाख भएको बताउँछन्।
भारतसंगको खुला सीमाका कारण त्यहाँ रहेका तथा अन्य कतिपय मुलुकमा गैरकानूनी रुपमा काम गर्ने युवाहरुको आंकडा सरकारसँग नभएकोले वास्तविक संख्या यकीन गर्ने झनै कठिन रहेको उनीहरुको भनाइ छ।