सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गरिने

302
  •  
  •  
  •  

काठमाडौं । सोमबार(भोली)देखि सार्वजनिक सवारीसाधन सञ्चालन गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज भएको छलफलमा व्यवसायीहरु भोलीदेखि यातायात सञ्चालन गर्न सहमत भएका हुन् ।

विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार, व्यवसायी र यातायात मजदूरका प्रतिनिधिहरुसँगको छलफलका क्रममा उनीहरु यातायात सञ्चालन गर्न तयार भएको बताए ।

उनले काेराेना संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न उनले आग्रह गरे ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति मार्फत सम्बोधन भएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए।

सरकारले २६ असारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीहरूले सवारीसाधन मर्मतका लागि पुनर्कर्जा दिनुपर्ने लगायत माग पूरा नभएसम्म सेवा शुरु नगर्ने बताउँदै आएका थिए।

कोरोना संक्रमण जोखिमकाबीच यातायात सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न व्यवसायीसँग आग्रह गरिएको छ।

छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय अनुसार भाडाका गाडीहरू काठमाडौं उपत्यकाभित्र काठमाडौं, ललितपुर र भक्तपुरमा तथा जिल्लाभित्र मात्र चल्नेछन् ।

अहिले साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायतले उपत्यकामा सेवा शुरु गरिसकेका छन्।

व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।


  •  
  •  
  •