सात जना पुर्पक्षका लागि थुनामा, तीन जना धरौटीमा रिहा

201
  •  
  •  
  •  

धनगढी, २१ असार (ओएनएस) : कैलाली जिल्ला अदालतले रामशिखरझाला –१ रतिपुरकी शिक्षिका यशोदादेवी शाहीको हत्या अभियोगमा सात जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकोे छ ।

तीन दिनपछिको थुनछेक बहस पछि आइतबार कैलाली जिल्ला अदालतका न्यायाधीस मात्रिकाप्रसाद मरासैनीले आरोपित १२ जनामध्ये सात जनालाई पुर्पक्ष्ँका लागि कैलाली कारागारमा थुनामा राख्न, तीन जनालाई  धरौटीमा रिहा गर्न  तथा एक जनालाई साधारण तारेखमा  छोड्न र  एक भने नाबालिका भएको भन्दै संरक्षकको जिम्मा लगाउन आदेश दिएका हुन्  ।

कैलाली जिल्ला अदालतका श्रेस्तेदार, उपसचिव जगदीशप्रसाद भट्टका अनुसार पुर्पक्षका लागि थुनामा जानेहरुमा रामशिखरझाला रतिपुरका डम्मर शाह, उनकी छोरी कल्पना शाह, पवित्रा सिंह, विक्रम बोगटी, विराज घर्तीमगर, प्रविण मिश्र र मेघ पौडेल रहेका छन् ।

अदालतले डम्मरकी श्रीमती ज्ञानुदेवी शाहलाई भने एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।  यसैगरी, खेमराज अधिकारी र लक्ष्मीदेवी भन्ने धर्मा शाहीलाई जनही ५०—५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको श्रेस्तेदार भट्टले बताए । उनका अनुसार नौ जनालाई ज्यान सम्बन्धी महल १३— ३ को अभियोग लागेको हो ।

‘तीन जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश भएको छ, उनले भने,‘धरौटी तिर्न नसके कारागार चलान हुन्छन ।’

अदालतले प्रेम थापालाई हालसम्मको प्रमाणका आधारमा घटनामा संलग्न नरहेको ठहर गर्दै साधारण तारेखमा छोडन आदेश दिएको छ ।

एक १५ वर्षीया  नाबालिका भएकाले उनको बाबुको  (संरक्षक) को जिम्मा लगाउन आदेश भएको भट्टले जनाए ।

‘यो अन्तिम फैसला होइन,’ भट्टले भने, ‘अहिलेसम्मका प्रमाण र मिसिलका आधारमा अदातलले थुनछेक आदेश गरको हो ।’

‘प्रमाणका आधारमा पुर्पक्षका लागि  थुनामा गएकारु पनि निर्दाेष ठहर भए रिहा हुन सक्छन । धरौटीमा रिहा भएका  तथा साधारण तारेखमा छुटेकाहरु पनि दोषी ठहर भए कारवाहीको भागेदार हुन्छन,’ उनले भने ।

गत जेठ ११ गते बेपत्ता भएकी रतिपुरकी यशोदादेवी शाहीको शव जेठ १५  पहलमानपुरस्थित तुलसीपुर सामुदायिक वन क्षेत्रमा फेला परेको थियो  । गते उनको शव फेला परेपछि उनका आफ्न्तले १२ जना विरुद्ध कैलाली जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए ।

श्रेस्तेदार भट्टका अनुसार कैलाली जिल्ला अदालतमा असार ९ गते मुद्दा दर्ता भएको थियो ।

असार १७, १८ र २० गते अधिवक्ताहरुले ‘थुनछेक’  बहस गरेका थिए  ।

वादीका पक्षबाट जिल्ला न्यायाधीवक्ता अशोक रेग्मी तथा अधिवक्ताहरु ठक्र मल्ल, तुलाराम गिरी, भरत सिंहले बहस गरेका थिए ।

प्रतिवादीका पक्षबाट अधिवक्ताहरू गंगाराम पाध्याय, विरबहादुर जेठारा, गम्भीरसिंह ऐर, लोकबहादुर शाह लगायतका रहेका थिए ।


  •  
  •  
  •