ज्यानै जोखिममा राखेर यार्सा संकलनमा,गाउँ नै सुनसान

211
  •  
  •  
  •  

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १० का पारस बढुवाल हिउँद लागेसँगै जडिबुटी खोज्न हिमालतिर लाग्छन् । सिजनमा यार्सा, चिराइतो, अतिस लगायतका जडिबुटी खोज्नु उनको काम हो ।  उनी यतिबेला यार्सा संकलनको लागी बन प्रवेश खुलाइएसँगै पाटन पुगेका छन् ।

मुगु जिल्लामा जडीबुडीको राजा मानिने यार्सागुम्बा प्रशस्त पाइन्छ । त्यस्तै सतुवा, चिराईतो, अतिस, भुल्त्या, बनलसुन, काकाँरसिलो लगायत अन्य जडिबुटी पनि पाइन्छन् । तर बनमा गएर जडीबुटी खोज्न सजिलो भने छैन ।

सबै जडीबुटी एकै ठाउँमा पाईंदैन । फरक–फरक मौसममा विभिन्न ठाउँमा खोज्न जाँदा संकलकहरुले स्वास्थ्य समस्या खेप्न बाध्य हुन्छन् ।

मुगु मकामारोगं गाउँपालीका वडा नं ६ का ग्याल्जेन लामा भन्छन्, ‘यार्सा खोज्न त्यति सजिलो छैन् । अप्ठ्यारो बाटो छल्दै बास बस्नुपर्ने हुन्छ । तर बेरोजगारीले यी जोखिम मोल्न बाध्य छन् यहाँका स्थानीय ।’ उनी थप्छन,‘जडीबुटी संकलन गरेर जिविका चलाउन बाहेक विकल्प छैन् । के गर्नु बेरोजागर छौं । बाध्य भएर ज्यान धरापमा राखि यार्सा संकलनमा जानु परेको छ ।’

मुगुका उच्च हिमाली पाटन क्षेत्र रिमार, टाँके, सानो कोइकी, ठूलो कोईकी, हाङदाङ खोला, छापाखोला, च्यार्कु, माझिङथान लगायत दर्जनौँ हिमाली पाटन क्षेत्रमा यार्सा पाईन्छ ।

वर्षेनी पाटनमा ५/६ हजार जना यार्सा संकलन लगायत जडीबुटी खोज्न हिमालतिर जान्छन् ।
यसरी गएकाहरु मध्ये कतिको ज्यान नै जाने गर्छ ।  जडीबुटी खोजुन्जेल संकलकहरुले भोग्नुपर्ने बास, बसाइँ, खाना, स्वास्थ्य उपचार लगायतको समस्या भोग्नुपर्ने संकलहरु बताउँछन् ।

गाउँ नै रित्तो
यतिबेला यार्सागुम्बा संकलन सिजन शुरु भएसँगै जिल्लाका अधिकांश युवा पाटनतिर लागेका छन् । सबै जना यार्सा संकलनको लागी उच्च हिमाली पाटनतिर गएसँगै गाउँघर यतिबेला सुनसान भएका छन् ।

मुगु मकामारोगं गाउँपालिकाका सबै गाउँ र छायाँनाथ रारा नगरपालिका साविकका रोवा रुगा गाउँ घरका युवायुवती देखि बालबच्चा समेत यार्सा संकलनमा गएका छन् ।

यतिखेर गाउँ खाली भएका छन् । गाउँमा कोहि कसैलाई बिरामी भए अस्पताल लैजाने, मृत्यु भएमा घाटसम्म लैजाने मान्छे पनि छैनन् ।

यार्सागुम्बा टिपेर मनग्ये आम्दानी गर्ने लक्ष्यका साथ अहिले स्थानीय पाटनतिर गएका छन् ।  वर्षभरीको खाने, खाद्यन्नको जोहो गर्न सजिलो होस्, बालबालिकालाई पठनपाठन, कापीकलम, किन्न र घरखर्च चलाउन सहजता होस् भनेर यहाँका स्थानीय यार्सा संकलनमा गएका छायाँनाथ रारा नगरपालिका वडा १० का स्थानीय पारस जुगित बुढा बताउँछन् ।

उनी भन्छन्, ‘गाउँमा युवा छैनन् । सबैजना यार्सा संकलनको लागी पाटनतिर लागेका छन् । यो समयमा कोहि कसैलाई केहि भए साह्रै समस्या हुने गर्छ । गाउँ बस्तीका सबै युवायुवती, बालबच्चा एकमहिनासम्म पुग्ने बन्दोबस्तीका सामान बोकेर पाटनतिर लागेका छन् ।’

गाउँमा कुरुवाको रुपमा अशक्त, अपांग र बृद्धहरू मात्रै छन् । घरका सबै मान्छेहरू पाटनतिर लागेपछि घरको अन्नबाली, पशुपक्षीको हेरालोको रुपमा अर्कालाई जिम्मा लगाएर पाटनतिर लागेका बुढा बताउँछन् ।
यार्सा संकलनबाट राम्रो कमाइ गर्ने परिवारले एक महिनामा दुईदेखि पाँच लाख रुपैयाँसम्म कमाइगर्ने गरेका छन् ।

एक करोड राजश्व

जिल्लाको पुर्वी क्षेत्रमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका वडा नम्बर एक र दुईमा पर्ने विभिन्न हिमाली पाटन क्षेत्रमा पाईने यार्सा गुम्वा संकलन गर्न बन प्रवेश शुल्क बापत एक करोड राजश्व संकलन भएको छ ।

यार्सा संकलनका लागि जेठ १५ गते बन प्रवेश अनुमति दिइने सार्वजनिक सूचना गरिए पनि संकलकहरु ढिलो गरी वन प्रवेश गर्ने आधार शिविर शिरानीचौरमा पुगेकाले जेठ १८ गते बिहान मात्र बन प्रवेश अनुमति दिइएको थियो ।

यार्सा गुम्बा संकलन तथा व्यवस्थापन समितिका संयोजक एवं मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष कार्मा तामाङका अनुसार यस पटक जिल्ला बाहिरबाट १ हजार ९ सय ९० र जिल्ला भित्रबाट २ हजार ३ सय ५३ जना यार्सा संकलक हिमाली पाटन क्षेत्रमा गएका छन् ।

१८ गते बिहान बन प्रवेशको अनुमति दिएपनि जिल्ला भित्रका संकलकहरुलाई अझै पनि बन प्रवेश अनुमति दिने कार्य जारी रहेको मुगुम कार्मारोङ गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले बताए ।

१८ गतेसम्म यार्सा संकलनका लागि बन प्रवेश शुल्क बाफत ९० लाख ८१ हजार राजश्व संकलन भएको छ भने जेठ १९ गते मात्र थप ६ लाख संकलन भएको छ । यार्सा संकलकहरु बन प्रवेश गर्ने क्रम जारी रहेकाले राजश्वको दर एक करोड बढि हुन सक्ने वडा नम्बर दुई मुगु गाउँका सचिव गंगाप्रसाद न्यौपानेले जानकारी दिए ।

मुगुका उच्च हिमाली पाटन क्षेत्र रिमार, टाँके, सानो कोईकी, ठुलो कोईकी, हाङदाङ खोला, छापाखोला, च्यार्कु, माझिङथान लगायत दर्जनौ हिमाली पाटन क्षेत्रमा यार्सा पाईने गर्छ ।

यो वर्ष जिल्ला भित्रका स्थानीयलाई दुई हजार र जिल्ला बाहिरका लागि दुई हजार पाँच सय वन प्रवेश शुल्क तोकिएको थियो ।

डोल्फु र वाङ्गरीमा १० लाख राजश्व

यता से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा पर्ने मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर १ डोल्फु र वाङगरीका पाटन १० लाख सात हजार पाँच सय राजश्व संकलन भएको छ ।

मुगु जिल्लाका डोल्फु र वाङ्रीमा क्षेत्रमा यार्सा संकलन गर्न जाने संकलकहरुबाट बन प्रवेश शुल्क मुगु र डोल्पाका लागी दुई हजार अन्य जिल्ला ३ हजार र मध्वर्ती भित्रका लागी ५ सयका दरले राजश्ज संकलन गरेका र संकलन बापत दश लाख सात हजार पाँच सय राजश्व संकलन भएको से फोक्सिुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय डोल्फु सेक्टरका सिनियर ग्याम स्काउट डिलबहादुर बुढाले जानकारी दिए ।

से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले मुगुको केहि क्षेत्र ओगटेकाले से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय डोल्पाका कर्मचारी मुगु आई कर उठाउने गर्दछन् ।


  •  
  •  
  •