किलोको १५ लाख पर्ने चर्चा प्रतिगोटा ५ सयमा !

395
  •  
  •  
  •  

माग्री गाविसको मह गाउँका ढोका-ढोका ४५ जना व्यापारीले रुँगेको एक साता भइसक्यो । कारण हो— यार्चाकुम्भु किन्न हारालुछ । ‘एउटाले मलाई देऊ भन्छ, अर्काले म लान्छु भन्छ,’ जिल्लामै बढी यार्चा संकलन हुने यस गाउँका गाराटसी लामा भन्छन्, ‘लिलाम बढाबढै भइरहेको छ ।’

सिजनसँगै व्यापारी ओइरिएपछि यहाँ यार्चाको मूल्य आकाशिएको छ । पाटन क्षेत्रबाट संकलकहरू गाउँतिर र्झन नपाउँदै व्यापारीहरूको ताँती लागेको छ । उनीहरूबीच धेरै मूल्य दिने प्रतिस्पर्धा छ । पाटन क्षेत्रमा प्रतिगोटा २ सयमा बिक्री हुन नसकेको यार्चा घरदैलोमा ४ सयदेखि ५ सय रुपैयाँमा बिकिरहेको छ । किलोकै १५ लाख रुपैयाँबाट बढ्दै गएको व्यापारीले बताए ।

यार्चा किन्न व्यापारीहरू गाउँलेसित अनेक नातासमेत जोड्न थालेका छन् । जिल्लाभित्रका यार्चा व्यापारी सबैभन्दा बढी सीमा मुगु गाउँ पुगेका छन् । उच्च लेकाली भेगसँग जोडिएको गाउँका बासिन्दाले सबैभन्दा धेरै यार्चा संकलन गर्ने गरेका छन् । करान भेगको मह, किम्री, फुलु, डोल्फुलगायत १२ गाउँमा करिब ४ सय व्यापारी पुगेका छन् । त्यही देखेर संकलकले पनि भाउ बढाइरहेका छन् ।

करान भेगका अधिकांश गाउँमा मूल्यमा सहमति हुन नसक्दा बिक्री हुन सकेको छैन । व्यापारीको लुछाचुँडीका कारण संकलकलाई फाइदा पुगे पनि झन् धेरै भाउ पाउने आसमा धेरैले बेचेका छैनन् ।

रोवा गाविसको शोभामा ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । डोल्फु गाउँमा पनि व्यापारीको भीड छ । मह गाउँका १ सय ८२ परिवारले करिब २० किलो जुटाएका छन् । त्यतिले करिब ३ करोड गाउँमा भित्रिने गारा टसीले बताए । ‘यार्चाबाटै गाउँ धानिएको छ,’ उनले भने, ‘यसले गरिबको कायापलट गर्‍यो ।’

व्यापारीहरूको घुइँचो लागे पनि संकलन पुर्जी लिनेको संख्या भने ४० मात्रै छ । बिक्री पुर्जी अहिलेसम्म कसैले नलिएको जिल्ला वन कार्यालयले जनाएको छ । प्रतिकिलो यार्साको १० हजार संकलन कर लिने नियम भए पनि अहिलेसम्म ४० जनाबाट २ लाख २६ हजार राजस्व संकलन भएको जिल्ला वन अधिकृत शिलानाथ झाले बताए । व्यापारीले भने अवैध रूपमा मुगु सीमा नाकाबाट तिब्बत पुर्‍याएर प्रतिकिलो २५ देखि २८ लाखमा बिक्री गर्ने गरेका छन् । कान्तिपुरबाट


  •  
  •  
  •