सी चिनफिङका दक्षिणी पाइला

कुनै बेला भारतको एकछत्र प्रभाव रहेको दक्षिण एसियामा चीनको आक्रामक प्रवेश
105
  •  
  •  
  •  

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ शुक्रबार भारत भ्रमणमा निस्किएका छन् । एक वास भारतको चेन्नईमा बसेर शनिबार नेपाल भ्रमण गरी आइतबार स्वदेश फर्किँदै छन् ।

सीको यस भ्रमणसँगै चीनले केही रणनीतिक महत्वको सन्देश विश्व समुदायमा प्रवाहित गर्दै छ ।

पहिलो सन्देश हो, दक्षिण एसियामा अब भारत एक्लो प्रभावशाली खेलाडी रहेन । उसका सबै छिमेकीसँग चीनले बेग्लै सम्पर्क स्थापित गरिसकेको छ । त्यसैले अब भारतको परम्परागत प्रभाव क्षेत्रमा चीन प्रवेश गरिसकेको छ ।

केही वर्षअघिसम्म भारतलाई नचिढ्याउने चीनको रणनीति थियो । त्यसैले उसकै समझदारीमा अघि बढ्न खोज्थ्यो । अहिले त्यो रणनीति चीनले पुनःविचार गरेको देखिन्छ । सके भारतलाई मनाउने, नभए आफ्नो स्वतन्त्र सम्बन्ध कायम गर्ने रणनीतिमा ऊ अग्रसर भएको देखिन्छ ।

भारतको बाटो भएर नेपाल आउँदा पनि चीनले चलाखी गरेको छ । नेपालमा भारतको प्रभाव कम भए पनि उपेक्षा नै गर्न नसकिने अवस्थामा रहेको उसको बुझाइ देखिन्छ । तर, भारत र नेपाललाई उत्तिकै महत्व दिएको कुरा दुवै मुलुकमा बराबर समय खर्च गरेबाट प्रस्ट हुन्छ । अझ भारतमा अनौपचारिक भेट गरेर सी फर्कँदै छन् भने नेपालमा राजकीय भ्रमण । दुवै देशमा एक वास बस्दै छन् उनी ।

विश्व शक्ति बन्ने होडमा रहेको चीन भारतसँग जोरी खोजेर समयको बर्बादी गर्न चाहँदैन । कतिपय कुरा उसले सुनिदिने, मानिदिने, फकाउने, आफ्नो महत्वाकांक्षी परियोजना बीआरआईमा कुनै न कुनै रुपमा समेट्ने र अमेरिकानजिक जान नदिने नीति लिएको बुझिन्छ । तर, दक्षिण एसियामा उसको ठूल्दाइ प्रवृत्तिमा लगाम लगाउनुपर्ने निष्कर्षमा पुगेको छ ।

यसका निम्ति उसले भारतका सबै छिमेकी मुलुकमा पूर्वाधार निर्माण र आर्थिक साझेदारीका माध्यमबाट प्रभाव विस्तार गर्ने रणनीति लिएको देखिन्छ ।

नेपाल भूकम्पको पीडाले छटपटिरहेका बेला, संविधान निर्माणको प्रशव पीडामा गुज्रिरहेका बेला भारतले नाकाबन्दी लगायो । त्यसयता भारतको प्रभाव नेपालमा क्रमिक रुपमा कम हुँदै गएको छ । तीन वर्षअघि नै सीको नेपाल भ्रमण हुन लागे पनि तत्कालीन केपी ओली नेतृत्वको सरकार ढाल्न भारतले नै भूमिका खेलेका कारण असम्भव भएको बुझाइ चिनियाँहरुको छ ।

यसपालि चीनले सीको भ्रमण भारतकै बाटो भएर हुने तय गरेपछि त्यो स्तरको खेलमा भारत उत्रिएन । सायद, यो पनि चिनियाँ चातुर्यकै उपज हो ।

नेपालमा अमेरिका लगायत कतिपय पश्चिमा शक्तिहरुको अनपेक्षित उपस्थिति र चलखेल चीनले रुचाएको छैन । चीनको बीआरआईको प्रतिवादमा अघि सारेको मानिने अमेरिकाको हिन्द–प्रशान्त रणनीतिको प्रभाव नेपाल र भारत दुवै मुलुकमा रोक्नु चिनियाँ प्रमुख अभीष्ट हो । अनि तिब्बतको संवेदनशीलतामा खेल्न चाहने अरु शक्तिको अवाञ्चित उपस्थिति रोक्न पनि चीनले नेपालमा बलियो राजनीतिक शक्ति, व्यवस्था र नेताको पैरवी गरिरहेको छ । एक देश, एक व्यवस्था, एक पार्टी र एक नेताको सूत्रमा रहेर नेपालमा सहयोग केन्द्रित रहेको हो भने त्यो नेकपा र केपी ओलीमार्फत् नै सम्भव रहेको बुझाइ कतिपय चिनियाँ विद्वानहरु बताउँछन् ।

नेपालले बेलाबेला ढुलमुले नीति लिने, भारतले अनावश्यक चलखेल गर्ने र पश्चिमा शक्तिहरुलाई पनि थेग्न नसक्ने हुँदा कतिपय मामिलामा चीनले चीन–नेपाल–भारत त्रिदेशीय साझेदारीमा जोड दिन चाहेको देखिन्छ । खासगरी ठूला विकास पूर्वाधार भूराजनीतिक कारणले नै अगाडि बढ्न नसकेको अवस्थामा यस्तो साझेदारी नेपालका लागि पनि आवश्यक छ । तर, भारतले नेपाल मामिलामा आफूलाई मात्र निर्णायक शक्ति ठान्ने, कतिपय पश्चिमा शक्तिले समेत भारतलाई नै निर्णायकत्व दिने कारणले त्रिदेशीय साझेदारीको अवधारणाले मूर्त रुप पाउन सकेको छैन ।

तर, भारतले बुझ्नुपर्छ– त्रिदेशीय साझेदारी पनि उसलाई स्वीकार्य छैन भने नेपालले एउटा बलियो शक्तिसँग आर्थिक साझेदारी अगाडि बढाउनेछ । जसले ठूलो आर्थिक स्रोत, प्राविधिक क्षमता र अनुभवका आलोकमा नेपाललाई पनि सँगसँगै लैजानेछ । आज नेपाली जनताको चाहना पनि आर्थिक समृद्धि र सुखको जिन्दगी नै छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here