काठमाडौं २९ असार (ओएनएस) :
विश्वका सात अर्ब मानिसलाई अहिले कुनै न कुनै रुपमा विश्वकप फुटबलको रन्कोले छोएको छ । ब्राजिलमा फुटबलको महाकुम्भ उत्कर्षमा पुग्दा उपाधि कसले जित्ला भन्ने उत्सुकता विश्वभर छ । जर्मनी र अर्जेन्टिनाबीच आइतबार राति फाइनल भिडन्त हुँदैछ।
विश्वकप फाइनलले पूर्वराजादेखि राजनीतिक दलका नेता, मन्त्री कर्मचारी र सर्वसाधारणलाई तानेको छ । फाइनल हेर्न सबैले आ-आफ्नै् योजना बनाएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह नातिनातिनीसँग बसेर फाइनल हेर्ने तयारीमा छन्। उनले आफ्नै निवासमा नातिनातिनीसँग बसेर सेमिफाइनलदेखि विश्वकप हेरिरहेको जानकारी सहयोगी फणीराज पाठकले दिए । क्रिकेटका समेत पारखी ज्ञानेन्द्रले आईपीएल क्रिकेट पनि हेरेको पाठकले बताए ।
कार्यबाहक प्रधानमन्त्री बामदेव गौतम पनि फाइनल खेलको ब्यग्र प्रतीक्षामा छन्। उनले भने,’म अर्जेन्टिनाको समर्थक हुँ । अर्जेन्टिनाको खेल्ने शैली उत्कृष्ट छ । उपाधि पनि उसैले लगोस्, मेरो शुभेक्षा छ ।’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अर्जेन्टिनालाई समर्थन गरेका छन्।
एमाओवादी नेता बाबुराम भट्टराईले चे ग्वेभारा जन्मेको देश अर्जेन्टिना र कार्ल माक्र्स जन्मेको देश जर्मनीबीच हुने विश्वकप फुटबलको फाइनल खेल रोमाञ्चक हुने बताए।’अर्जेन्टिनाका चे ग्वेभारा मेरा आदर्श हुन्, जो मेरो हृदयमा छन्।
कार्ल माक्र्स मेरो मस्तिष्कमा छन् । फाइनलमा उपाधि जसले जिते पनि मलाई फरक पर्दैन । अर्जेन्टिनाले जिते मेरो हृदय खुसी हुने छ। जर्मनीले जिते मस्तिष्क प्रफुल्ल हुनेछ, उनले भने।’
अन्नपूर्णपोष्टबाट