काठमाडौं, ३ असार थोमस मुलरको ह्याट्रिकसँगै जर्मनीले सोमबार राति भएको खेलमा पोर्चुगललाई शून्यका विरुद्ध ४ गोलले हराएको छ । चार वर्ष अगाडि दक्षिण अफ्रिकामा भएको विश्वकपमा सर्वाधिक पाँच गोल गर्दै गोल्डेन बुट पाएका मुलर सोमबार राती ब्राजिलको एरेना फान्टे नोभा रंगशालामा एउटै खेलका तीन गोल गरे ।
खेलमा जर्मनीले मुलरको पेनाल्टी गोलबाट १२ औं मिनेटमै अग्रता लिएको थियो । मारियो गोट्जलाई जाओ परेराले डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई बायर्न म्युनिखबाट खेल्ने गरेका खेलाडी मुलरले गोलमा परिणत गरे। म्याट्स हुमेल्सले ३२ औं मिनेटमा अर्को गोल थप्दै टिमको अग्रता दोब्बर पारे।
खेलको ३७ औ मिनेटमा मुलरलाई टाउकोले ठक्कर दिएपछि पोर्चुगाली डिफेन्डर पेपे रातो कार्ड खाँदै मैदान छाडे । त्यसपछि १० खेलाडीमा सिमिति भएको पोर्चुगललमाथि जर्मनीले एकपक्षीय जित दर्ता गर्यो । पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरे।
मध्यान्तरसम्म ३ गोलले पछि परेको पोर्चुगलले दोस्रो हाफमा पनि पुनरागमन गर्न सकेन । खेलको ७८ औं मिनेटमा मुलरले जारी विश्वकपमा पहिलो ह्याट्रिक पूरा गरे भने त्यो गोल टिमको लाग चौँथो भयो ।