विश्वभरिका सांसदहरू नेपाल आउने

129
  •  
  •  
  •  

काठमाडौं १० चैत ।
बालअधिकारका विभिन्न विषयमा सहकार्य गरी अघि बढ्न विश्वभरिका सांसदहरूको पहिलो बैठक शुक्रबार नेपालमा हुने भएको छ। विश्वभरिका सांसदहरू सहभागी ‘पार्लियामेन्टरियन्स् विदाउट बोर्डर’ अभियानको संयोजकत्वमा उक्त बैठक आयोजना हुने भएको हो।
चैत १३ र १४ गते काठमाडौंमा हुने बैठकले विश्वभरिका बालबालिकाका अधिकारका लागि सहकार्यका क्षेत्रहरू स्पष्ट गर्ने नेपालबाट कार्यक्रमको संयोजन गरिरहेका नेपाली कांग्रेसका सभासद् डिल्ली चौधरीले जानकारी दिए।
बालबालिकाको अधिकारका लागि संसारभरिका सांसदरूले एकजुट भएर काम गर्न ‘पार्लियामेन्टरियन्स् विदाउट बोर्डर’को अवधारणा नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थी र ब्राजिली सांसद क्रिटोभान बुराकले संयुक्त रूपमा अघिल्लो वर्ष ल्याएका हुन्।
नोबेल विजेता सत्यार्थीको अगुवाइमा बालअधिकारबारे विशेष कार्यक्रम  आयोजना गरिएको छ। 
नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थी यो बैठकको प्रमुख आतिथि हुन बुधबार काठमाडौं आउँदैछन्। विश्वभरिका सांसदहरूलाई बालबालिकाको अधिकार तथा मानवअधिकारबारे आमनेसामने भएर अन्तरक्रिया गर्न बैठकले मौका दिने चौधरीले बताए।
‘बालबालिकाको बेचबिखन, श्रम र दासता हामीकहाँ पनि ठूलो समस्या हो’, चौधरीले भने, ‘त्यही भएर बालअधिकारबारे एकजुट भएका सांसदहरूको पहिलो बैठक नेपालमा आयोजना हुनु उपलब्धिमूलक हो।’
बैठकमा २७ देशका ४० सभासद्हरू सहभागी हुनेछन्। चौधरीका अनुसार बैठकमा नेपालबाट पाँच सभासद् सहभागी हुनेछन् भने हरेक दक्षिण एसियाली देशका सांसदहरूको प्रतिनिधित्व रहनेछ।
‘पार्लियामेन्टरियन्स् विदाउट बोर्डर’ को मुख्यालय नेदरल्यान्ड्समा छ भने नेपाल र ब्राजिलमा रहेका कार्यालयहरूले यसलाई सघाइरहेका छन्।
बैठकका क्रममा सांसदहरूको एउटा समूह गठन गरेर दासता, शोषण, बेचबिखन, बालविवाह, शिक्षालगायत विषयमा छलफल गरी नीतिहरू तय गरिने जानकारी चौधरीले दिए।
अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •