सम्झना गैरे, असार ७ (ओएनएस) । गायक एवं संगीतकार प्रेमध्वज प्रधान ७८ बर्षको उमेरमा पनि सिर्जनामा उत्तिकै तल्लिन छन् । हरेक विहान रियाज गर्नु उनका लागि अम्मल जत्तिकै छ । आज ‘विश्व संगीत दिवस’ त उनको लागि विशेष नहुने कुरै भएन । उनी नयाँ रचना ‘हाम्रा लागि एउटै ठाउँ दुरी बेग्ला बेग्लै’ को सिर्जनामा व्यस्त छन् । एकछिन फुर्सद निकालेर सांगीतिक संघले आयोजना गर्ने ‘संगीतकार र गायक सम्मान कार्यक्रम’मा प्रमुख अतिथीको निम्तो स्वीकार गर्न जाने तयारीमा छन् ।
‘तपाईंको लागि आजको दिन किन विशेष छ ?’ भन्ने ओएनएसको प्रश्नमा उनी मधुरो आजावमा केही सम्झिए जसरी भन्छन्,‘संसारका संगीतप्रेमीले आजको दिनलाई सम्झिरहेकाछन्, म पनि नयाँ सिर्जनामा रमाउदै अन्तरमनमा शान्ति खोज्नेछु ।’ विश्वमा शान्ति ल्याउने माध्यम संगीत नै हो भन्ने प्रधान आजको दिन नातिकाजीको संगित र आफ्नै स्वर रहेको ‘बस्छु म त हिमालको काखमा’ बोलको गित सुन्ने इच्छा प्रकट गर्छन् ।
२००९ सालमा रेडियो नेपालमा स्वर परिक्षण दिएपछि उनको सांगितीक यात्रा निरन्तर अगाडि बढीरहेको छ । उमेरले ८० छुन आँट्दा पनि उनको स्वरको जादू उस्तैछ, सिर्जनामा सक्रियता घटेको छैन । निजी लगानीको पहिलो फिल्म ‘माईतिघर’मा लागि पहिलो पटक ‘नमान लाज तिमी’ गित गाए लगत्तै उनी सिनेमाका लागि सिर्जनामा व्यस्त हुनथालेका हुन् । त्यसपछिको ४८ बर्ष सम्म उनी संगीतमै रमाइरहे । जीवनको अन्तिम समयसम्म संगीत सिर्जनामा रमाउने उनको धोको छ ।
चार दशक देखि संगीत सिर्जना र गायनमा क्रियाशिल शम्भुजित बास्कोटा आजको दिनलाई अवस्मरणिय बनाउने तयारीमा छन् । निर शाहको निर्देशनमा बन्दै गरेको फिल्म ‘सेतो बाघ’ का लागि पाश्र्व संगीत रचना मै उनको दिन बित्नेछ । डायमण्ड शमसेर राणाको ऐतिहासिक कृतिमाथि बन्न लागेको फिल्मको काम ऐतिहासिक दिनमै पर्नुलाई उनले सुखद संयोगका रुपमा लिएका छन् । त्यसो त विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रममा उनलाई निम्तो छ । ‘तर म संगीतको जन्म भएको आजको दिनमा नयाँ संगित नै जन्माउन चाहान्छु,’ उनले ओएनएससँग भने ।
आधुनिक गीत, लोक गीत र फिल्मी गीतमा उत्तिकै सक्रिय बासकोटालाई ‘अडियो लाइब्रेरी’ बनाउने इच्छा छ । ‘जीवनको उत्तरार्धमा आफ्ना रचना सुनेर आनन्द लिने इच्छा भएको सुनाउदै उनी थप्छन,‘आज राती सम्म भएपनि आफ्नो रचना ‘तिम्रो त्यो हसिलो मुहारको झझल्को जब आउदा’ सुन्ने तिब्र इच्छा छ ।’
‘हर रात सपनीमा’, ‘म त दूरदेखि आएँ’जस्ता चिर्चित गीतका गायक दिप श्रेष्ठलाई पनि आज विभिन्न सांगीतिक कार्यक्रममा अतिथी बन्ने निम्तो छ । गीतकार किरण खरेललाई पनि यो दिवसले विहानैदेखि व्यस्त बनायो । ‘संगीत सिर्जनामा लाग्नेका लागि आज थप उर्जा मिल्ने दिन हो’ भन्ने खरेल आजको दिनलाई नयाँ रचनामा केन्द्रित गर्न चाहान्छन् । दिप श्रेष्ठको बुझाई छ, ‘हरेकको जीवनमा संगीत छ, हो त्यही संगीतलाई लय दिने काम हो हाम्रो ।’ उनी जीवनरुपी संगीतलाई अझै लयवद्ध बनाउन चाहन्छन् ।
Comments are closed.