‘विश्व सरकार’ सम्भव छ ?

138
  •  
  •  
  •  

Binodविनोद शर्मा । अध्यात्मिक गुरु ओशो (आचार्य रजनीश) ले भनेका थिए ‘हामीलाई विश्व सरकारको जरुरी छ । हामी कुनै किसिमको देशको सट्टा एक सरकार र एक विश्व चाहन्छौं ।’ उनको तर्क थियो ‘अहिले हरेक देशले ७५ प्रतिशतसम्म बजेट युद्धका लागि खर्च गरिरहेका छन् । चाहे लडाइँका लागि होस् चाहे लडाइँको तयारीका लागि । विश्व सरकार भएमा लडाइँका लागि भैरहेको खर्च कटौती भई विकासमा लगाउन सकिन्छ । जसबाट विश्वमा शान्ति र सम्बृद्धिको ढोका खुल्छ ।’

विज्ञान र प्रविधिको हिसाबले अहिले नैं विश्व एक भैसकेको अवस्था हो । राजनेता तथा धर्मगुरुहरुको संकीर्णताले मात्रै विश्वलाई एक बनाउन नसकिएको आध्यात्मिक गुरुहरुको भनाइ छ । हिजो महायुद्धको जन्मस्थल बनेको युरोप अहिले युरोपेली संघका रुपमा एउटै मुद्रा, एउटै संसद बनाएर एउटै संविधान र सरकारको खोजीमा लाग्नुले पनि विश्व सरकारको अवधारणा पुरा हुने सम्भावनालाई उजागर गरेको छ । सन् १९४५ मा दोश्रो विश्वयुद्ध सकिएपछि सं्रसारले अर्को विश्वयुद्धको सामना त गर्नु परेको छैन । तर एक अर्काप्रति भयभित बनाउने गरी भैरहेको विज्ञान र आणविक शस्त्रअस्त्रको विकासका कारण तेश्रो विश्वयुद्ध नहोला भन्न सकिन्न । यसबाट हुने क्षति र अशान्तिको अवस्थालाई मध्येनजर गर्दै आशोले अगाडी सारेको विश्व सरकारको अवधारणाका बारेमा बहस थालिनुपर्छ ।

विश्व सरकार, झट्ट हेर्दा यो अव्यबहारिक मिठो स्वप्न जस्तो लाग्न सक्छ । राइट जादुभाईले चरा झैं आकाशमा उड्न सकिन्छ भन्ने सुनाउँदा सबैले दिवा स्वप्न भन्दै हावामा उडाईदिएका थिए । अहिले विभिन्न आकार प्रकारका हवाइजहाजको माध्यमबाट हामी देश विदेशका विभिन्न ठाउँमा पुग्न सकेका छौं । मनुष्यको चन्द्रमामा पुग्ने इच्छा पनि एउटा स्वप्न थियो जुन यथार्थमा परिणत भैसकेको छ । हामी चन्द्रमामा बस्ती बसाल्न सकिन्छ की भनेर खोज गरिरहेका छौं ।

दोश्रो विश्वयुद्धपछि आगामी दिनका युद्ध रोक्ने सामुहिक प्रयासका लागि २४ अक्टोवर १९४५ मा ५१ राष्ट्रले शडापत्रमा हस्ताक्षर गर्दै संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो । अहिले संसारका १ सय ९३ राष्ट्र संयुक्त राष्ट्रसंघमा आवद्ध भैसकेका छन् । यस विषयमा सबैभन्दा उत्साहपूर्ण घटना द्धित्तिय विश्वयुद्धपछि सन् १९५७ मा युरोपियन युनियनको गठन हो । जसमा युरोपका २८ राष्ट्रहरु (क्रोयसिया सन् २०१३) समावेश भई आफ्नो भौगोलिक, व्यापारिक र आर्थिक ढोका एक अर्काका लागि खोलि दिएका छन् । यसले भविष्यमा सारा संसारलाई एक हुन सक्ने सम्भावना देखाइदिएको छ ।

सन् १९८५ मा दक्षिण एसियाका ७ राष्ट्र सम्मिलित सार्क स्थापना भएको थियो भने सन् २००७ मा अफगानिस्तान पनि सहभागी भएर सार्क राष्ट्रको सँख्या ८ पुगेको छ । चिनले समेत सार्क राष्ट्रको सदस्य बन्न खोजिरहेको छ । दश देशको समूह आसियान, १२ राष्ट्रको स्वतन्त्र संघ सीआइएसको गठन भएको छ । यो अवधारणा मनुष्यको अवचेतनामा परिसकेको छ की अब संगठित भएर संयुक्तरुपमा बाँच्नुपर्छ । एउटा प्रश्न सकैका लागि संयुक्त राष्ट्रसंघ बनेजस्तै विश्व सरकार बन्न सक्दैन ?

ओशोका चेला ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण पनि विश्व सरकार बन्नु पर्ने ठान्छन् । उनको पुस्तक ‘अन्तर्यात्रा’ को जागरण खण्डको एक धर्ती एक आकाश शीर्षकमा लेखिएको छ, ‘साइबेरियाका चरा बिनाभिसा चितवन आइपुग्छन् । सुन्दरवनका बाघ विनापासपोर्ट बंगलादेश गइदिन्छन् । पाकिस्तानका जंगली जनावर भारत छिर्न अनुमति माग्दैनन् । जनावरका लागि यो स्वतन्त्रता सहजै प्राप्त भए पनि शासनको भयले कागजको नक्सामा कोरिएका सीमारेखा हामी मनुष्यले मानिरहेका छौं । परमात्माले दिएको एक धर्ती एक आकाशको स्वतन्त्रता हामीले उपभोग गर्न सकिरहेका छैनौं ।’

विश्व सरकारको अवधारणबारे कानुन तथा न्यायमन्त्री नरहरी आचार्यको पनि समर्थन छ । अन्तर्यात्रा पुस्तकबारे टिप्पणी गर्दै उनले लेखेका छन्, ‘हिजो पारस्पिरिक घृणा र अविश्वासले महायुद्धहरुको जन्म भएको युरोप आज युरोपेली संघका रुपमा एउटै मुद्रा, एउटै संसद बनाएर एउटै संविधान र एउटै सरकारको खोजीतर्फ अगाडी बढिरहेको छ । जसरी आजकै विश्व समेत एक अर्काप्रति आश्रित हुँदै गएका छन् । यसले पनि धमिलै भए पनि भविश्यको एउटा तस्विर देखाउँछ ।’

विश्व सरकारको फाइदाका बारेमा अन्तर्यात्रामा लेखिएको छ, ‘विश्व सरकारमा सबै राष्ट्र एक स्वायत्त राज्यका रुपमा रहन्छन् । आफ्नो भाषा, संस्कृति र चालचलन अनुसार नैं जिउँछन् । एक राज्यबाट अर्को राज्यमा आवतजावत गर्न, बिक्री व्यापार गर्न कुनै बन्देज र अनुमतिको आवश्यकता पर्नेछैन ।’

विश्व सरकार भएपछि संयुक्त राष्ट्रसंघलाई बलियो बनाउन हरेक राष्ट्रले आफ्नो सम्पूर्ण सैनिक शक्ति संयुक्त राष्ट्रसंघको शान्ति संस्थापक सेनाको रुपमा समर्पित गर्न सक्ने स्वामी आनन्द अरुणको धारणा छ । उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय सीमारेखाको सिमाङ्कन र त्यसको सुरक्षाको जिम्मेवारी पूर्णरुपमा संयुक्त राष्ट्रसंघले लिनेछ । एउटै मुद्रालाई सबैले आफ्नो मुद्राको रुपमा स्वीकार गर्नेछन् । सबै राष्ट्रले आफ्ना विद्यार्थीलाई आफ्नो मातृभाषाको अलावा अँग्रेजीलाई सम्पर्क भाषाको रुपमा पढाउनेछन् ।’

विश्व सरकारको अवधारणा लागु भएमा नेपालमा ८४ हजार मेगावाट विजुली उत्पादन भई पुरै दक्षिण एसियाको विद्युत संकट समाधान हुने वातावरण बन्ने स्वामी आनन्द अरुण बताउँछन् । उनी भन्छन्, ‘यस्तो वातावरणमा मात्रै नेपालको ८४ हजार मेगावाट विजुली उत्पादन भई पुरै दक्षिण एसियाको विद्युत संकट समाधान हुनेछ । पानीको भाउमा यहाँ हामीलाई पेट्रोलियम पदार्थ सर्वसुलभ हुनेछ ।’

विश्व सरकारको अवधारणाबाट करको दर कम हुन गई संसारभरीका बस्तुहरु उत्पादनकै मुल्यमा प्राप्त गर्न सकिने स्वामी आनन्द अरुणको धारणा छ । अन्तर्यात्रामा उनले लेखेका छन्, ‘विश्व सरकारका कारण भन्सार लाग्नेछैन र सामरिक तथा प्रशासनिक खर्च कम हुँदै जाने भएकोले अन्य कर पनि अति न्यून हुँदै जानेछन् । त्यसकारण संसारभरीका बस्तुहरु मनुष्यले उत्पादनकै मुल्यमा प्राप्त गर्नेछन् । यसले विश्वको जीवनस्तर एक्कासी उक्लनेछ ।’

स्वामी आनन्द अरुणकै शब्दमा भन्ने हो भने द्धन्द्ध, युद्ध र असमानता सधैंका लागि अन्त्य गर्दै विश्वलाई स्वर्ग बनाउनका लागि सामूहिक, बुद्धिमतापूर्ण र उदार निर्णय गर्न जरुरी छ । तत्कालका लागि दिवास्वप्न जस्तै लाग्ने विश्व सरकारको यो विषयमा गहिरिएर छलफल गर्न भने आवश्यक देखिन्छ ।


  •  
  •  
  •