क्वाटरफाइनलमा कसको भिडन्त को-सँग ?

165
  •  
  •  
  •  

QFsकाठमाडौ, १ चैत(ओएनएस) : जारी विश्वकप क्रिकेट अन्तरगत आजबाट लिग चरणका खेलहरू समाप्त भएका छन् । आज भएको खेलमा पाकिस्तानले आयरल्याण्डलाई पाखा लगाएर क्वाटरफाइनलको यात्रा तय गरेपछि क्वाटरफाइनलको समिकरण पूरा भएको हो ।

क्वाटरफाइनलका खेलहरू बुधबारबाट सुरू हुनेछ । क्वाटरफाइनलको पहिलो खेल १८ मार्च अर्थात् बुधबार सिड्नी क्रिकेट ग्राउण्डमा श्रीलंका र दक्षिण अफ्रिकाबीच हुने छ । दोस्रो खेल मार्च १९ मा मेलवर्न क्रिकेट मैदानमा बंगलादेश र भारतबीच हुनेछ ।

क्वाटरफाइनलको तेस्रो खेल २० मार्चमा एडिलेडमा हुनेछ । उक्त खेलमा अष्ट्रेलिया र पाकिस्तान भिड्नेछन् र क्वाटरफाइनलको अन्तिम खेल २१ मार्चमा वेष्टप्याक स्टेडियममा न्युजिल्याण्ड र वेष्ट इण्डिजबीच हुनेछ ।

प्रतियोगितामा विजयी टोलीहरूले सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछन् ।

आज भएको खेलमा पाकिस्तानले आयरल्याण्डलाई ७ विकेटले पराजित गरेको छ । २ सय ३८ रनको विजय लक्ष्य पछ्याएको पाकिस्तानले २३ बल बाँकी रहँदा ३ विकेट गुमाएर उक्त विजय लक्ष्य भेट्टाएको थियो । पाकिस्तानको जीतमा सर्फ्राज अहेमदले शतकीय पारी खेलेका थिए । उनले १ सय २४ बलको सामना गर्दै १ सय १ रन जोडेका थिए । यस्तै, अहमद शेजादले ६३ रन, मिसबाह उल हकले ३९ रन, उमर अकमलले अविजित २० रन जोडेका थिए । आयरल्याण्डका लागी कुसाक र स्टुवार्ट थम्पसनले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको आयरल्याण्डले ५० ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २ सय ३७ रन जोडेको थियो । उक्त स्कोरसम्म पुर्याउनका लागि कप्तान विलियम पोर्टरफिल्डले १ सय ७ रन जोडेका थिए भने ग्यारी विल्सनले २९ रन जोडेका थिए । आयरल्याण्डलाई उक्त स्कोरमा रोक्नका लागि वेहाव रियाजले ३ विकेट, राहत अली र सोहिल खानले समान २-२ विकेट लिएका थिए भने इसान अदिल र ह्यारिस सोहिलले समान १-१ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच सर्फ्राज अहेमद घोषित भएका थिए ।


  •  
  •  
  •