नेपालले खेल जितेन, तर मन जित्यो

95
  •  
  •  
  •  

तस्बिर : https://www.theguardian.com

काठमाडौँ — नेपाली टिमले बिहीबार फुटबलको एक महारथी अस्ट्रेलियाको सामना गर्यो । फिफा वरीयतामा नेपालभन्दा ११७ स्थानमाथिको अस्ट्रेलियाविरुद्धको खेलमा उसैको घरेलु मैदान क्यानबेरामा ५ गोल खाँदा नेपालले एउटा पनि गोल फर्काउन सकेन ।

यस विश्वकप छनोटको ३ खेलमा नेपालले दोस्रो हार बेहोरेको हो। पहिलो खेलमा कुवेतविरुद्ध ७-० को हार बेहारेको थियो, जुन अनपेक्षित थियो । त्यसको ५ दिनपछि ताइवानमा भने नेपालले २-० को जित हात पारेको थियो।

एसियन कप २०२३ को छनोटको रुपमा समेत हेरिएको यस विश्वकप छनोटका क्रममा अब नेपालले १५ अक्टोबरमा अम्मानमा जोर्डनविरुद्ध खेल्नेछ।

अस्ट्रेलियाले भने दुई खेलमा शतप्रतिशत जित निकाल्दै विश्वकप २०२२ छनोटमा अर्को चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।

जीआईओ रंगशालामा सम्पन्न बिहीबारको खेलमा जेमी म्याक्लारेनको ह्याट्रिकसँगै घरेलु टिमले सहजै ३ अंक जोडेको थियो । सुरुबाटै आक्रामक देखिएको घरेलु टिम अस्ट्रेलियालाई म्याक्लारेनले छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाए। उनले किरण चेम्जोङले नियन्त्रण गर्न नसकेको र नेपाली डिफेन्स सतर्क नरहेको मौकाको फाइदा उठाएका थिए । मेलबर्न सिटी एफसीका यी फरवार्डले १९ औं मिनेटमा दोस्रो गोल गरे। उनले रायन ग्रान्टको पासलाई हेडद्वारा गोलमा परिणत गरेका थिए। उनले ९० औं मिनेटमा ह्याट्रिक पूरा गरे।

अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकै खेलमा डिफेन्डर साउटरले कर्नरमा पाएको बललाई २३ औं मिनेटमा हेडद्वारा गोलको खाता खोले । उनले ५९ औं मिनेटमा गोल हानेका थिए । नेपाली डिफेन्डर दिनेश राजवंशीबाट चिप्लिएर बल जाली चुम्न गएकोले यो एउटा आत्मघाती गोल बन्न पुग्यो ।

करिब २० हजार दर्शक उपस्थित रंगशालामा नेपाली टिमलाई साथ दिनेहरु पनि कम थिएनन् । नेपालीको बाक्लो उपस्थिति र साथ पाएको राष्ट्रिय टिमले ४१ औं मिनेटमा बललाई गोलकिपरसम्म पुर्‍याएको थियो । सबै खेलाडी डिफेन्समै व्यस्त हुनुपर्दा नेपाल आक्रामक रणनीतिमा चल्न सकेन । ५५ मिनेट मोयको क्रसमा गुडविनको हेडरमा गोलकिपर किरणले राम्रो बचाउ गरेका थिए।

तर शारीरिक, कौशललगायत सबै हिसाबले  बलियो अस्ट्रेलियासँग नेपालको मेहनत केवल अभ्यास र अनुभव हासिल गर्ने अवसरमा परिणत भयो ।


  •  
  •  
  •