विश्‍वकप २०२२का लागि यस्तो छ कतारको तयारी

128
  •  
  •  
  •  

काठमाडौं २० कात्तिक ।

दोहा : विश्व फुटबलमा खासै परिचित नाम नभए पनि कतारले सन् २०२२ मा विश्वकप आयोजना गर्ने अवसर पाएको छ। यही कारण अन्तर्राष्ट्रिय खेलवृत्तमा एकाएक चर्चा कमाएको कतार अहिले त्यसैको तयारीमा जुटेको छ। कहिले भौतिक पूर्वाधार निर्माणका क्रममा मानवअधिकार हनन गरेको त, कहिले अत्यधिक गर्मीका कारण खेल्ने वातावरण नरहेको भनी आलोचना खेप्दै आए पनि कतारको विश्वकप यात्रामा रत्तिभर असर परेको छैन।

क्षेत्रफल र जनसंख्याका आधारमा सानो भए पनि अत्यासलाग्दा ठूल्ठूला पूर्वाधार निर्माणसँगै कतार विश्वकप वातावरण सिर्जना गर्न व्यस्त छ। पश्चिमा सञ्चारमाध्यमले कतार विश्वकपलाई लिएर गरिरहेका टिप्पणीलाई उसले वास्ता गरेको छैन। १० लाख जनसंख्या रहेको कतारले दर्शक र वातावरणका दृष्टिले समेत विश्वकप आयोजना गर्ने हैसियत राख्दैन भन्ने युरोपेली आरोप छ।
राजधानी दोहालाई भौतिक संरचनाका दृष्टिले विश्वकै नमुना सहर बनाउन लागिएको छ। सन् २०१० मा १२ वर्षपछिको विश्वकप आयोजना गर्ने अधिकार पाएपछि कतारलाई विश्वकै नमुना सहर बनाउने लक्ष्य लिइएको थियो। सोही लक्ष्यका आधारमा कतार सरकार र कतार फाउन्डेसनमार्फत निर्माणकार्य अगाडि बढाइएको हो।
पहिले मरुभूमिजस्तै देखिने कतारका सडक अहिले आठदेखि १२ लेनका छन्। सडक किनारामा रूख रोपी हरियाली बढाइँदैछ। सिंगो कतारलाई फन्को मार्ने गरी भूमिगत रेलमार्ग निर्माण जारी छ।
विश्वकै नमुना विमानस्थल निर्माण गरिरहेको कतारले ६ महिनादेखि हमाद अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको छ। विश्वकपमा आउने आगन्तुकलाई लक्षित गरी सुविधासम्पन्न तारे होटेल, गगनचुम्बी भवनलगायतको निर्माण कार्य तीव्र पारिएको छ। तेल र ग्यासको खानी कतारले सहर झिलिमिली पारेको छ।
फुटबलका भौतिक संरचना निर्माणमा पनि उत्तिकै ध्यान दिइएको छ। विश्वकपका लागि आठदेखि १२ वटा रंगशाला तयार गरिँदै छ। कतार सरकारले सन् २०११ देखि दीर्घकालीन योजना बनाएर भौतिक संरचना निर्माण कार्य प्रारम्भ गरेको हो।
निर्माण कार्यले सन् २०१८ सम्ममा पूर्णता पाइसक्ने यहाँका सरकारी अधिकारीले बताए। ‘कतारमा विश्वकपको वातावरण सुरु भइसकेको छ। पश्चिमा सञ्चारमाध्यमले उल्लेख गरेजस्तो नकारात्मक वातावरण छैन’, कतार विश्वकपअन्तर्गत फिफाका अन्तर्राष्ट्रिय सञ्चार प्रमुख पाउल जोन हगेसले भने।
फिफाले विश्वकप आयोजनाको निर्णय गरेकाले कतारमा विश्वकप हुनेमा कुनै शंका नरहेको पनि पाउलले बताए। वातावरणका दृष्टिले समेत कतारलाई मानवमैत्री बनाउन सरकार कम्मर कसेर लागिपरेको जानकारी उनले दिए।
कतारमा रोजगारीका लागि विभिन्न ४२ वटा देशका मानिस आएका छन्। फुटबलको वातावरण बनाउन कतारमा सानाठूला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल सञ्चालन गरिएको छ।
कतारमा पाँच लाखभन्दा बढी नेपाली र सोही हाराहारीमा फिलिपिनो कामदार छन्। यी दुई देशबीचको मैत्री फुटबलले पनि विश्वकपको वातावरण बनाउन योगदान गरेको छ।
कतार फुटबल संघले आगामी दुई महिनाभित्र फेरि नेपाल र भारतबीच मैत्री फुटबल आयोजना गर्ने तयारी गरेको छ। कतारमा अहिले १० लाख भारतीय बसोवास गर्छन्। यो कतारको जनसंख्या बराबर हो।
आर्थिक हिसाबले सम्पन्न कतारका नागरिकलाई भने मैत्रीखेलले भने छुन सकेको छैन। प्यारापिटमा पुग्ने दर्शक विदेशी कामदार नै हुन्छन्। त्यसैले कतारमा सार्वजनिक बिदाको दिन शुक्रबार नै अन्तर्राष्ट्रिय मैत्री फुटबल खेलाइन्छ। मैत्रीखेल हेर्न सरकारले दर्शकलाई सार्वजनिक यातायात, पानीलगायत सुविधा उपलब्ध गराउँछ।
गोविन्द रेग्मी /अन्न्पूर्णपोष्टबाट

  •  
  •  
  •