कार्यतालिकाअनुसार सहमति जुट्न कठीन

123
  •  
  •  
  •  

मदन कोइराला
काठमाडौं, १८ भदौ (ओएनएस) : संविधानसभाले २०७० चैत २१ गते जारी कार्यतालिकाअनुसार भदौ तेस्रो सातासम्म संविधानका विषयवस्तुमा सहमति जुटाउनुपर्ने छ । संवैधानिक राजनीकित संवाद तथा सहमतिले संविधानसभाभित्रका र बाहिर रहेका राजनीतिक दलबीच सहमति जुटाउने कार्यदेश पाएको छ । यो समितिले सुरुदेखि नै अघिल्लो संविधानसभामा विवादित रहेका विषयमा छलफल गरिरहेको छ । तर, मुल विषयमा यो समितिले महत्व दिएर छलफल नै चलाएको छैन ।ca bulding - Copy

भदौ २१ आउन अब केही रातमात्र बाँकी छ । यो सयम सीमाभित्र यो समितिले सहमति जुटाउने सम्भावना नरहेको समितिकै सदस्यहरुले बताउन थालेका छन् । आइतबारको बैठकमा शीर्ष नेताहरुबीच गम्भीर छलफल नभएको भन्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आक्रोस पोखेका थिए । उनले दलहरुले माघ ८ गते भित्र संविधान बनाउने सम्भावना निकै कम रहेको अभिव्यक्ति दिएका थिए । दलहरुबीच संघीयताका विषयमा निकै विवाद छ । यो विषयका कारण नै पहिलो संविधानसभाले संविधान बनाउन नसकेको हो । तर, यो विषयमा दलहरुबीच खासै छलफल नभएको सहमति समितिका एक सदस्यले बताए ।

संविधानसभा अन्र्तगत गठित विभिन्न पाँच समितिका सभापतिमा वैशाख १२ गते पाँच वटै सभापति निर्विरोध निर्वाचित भएका थिए । संविधानसभाले आफ्नो काम सुरु गरेको एकवर्षभित्र संविधान जारी गर्ने विषयमा सहमति जनाएका दलहरुले असोज ससान्तसम्म संविधानको पहिलो मस्यौदा जनताको राय प्रतिक्रियाका लागि लैजाने कार्यतालिकामा उल्लेख छ ।

पाँच वटा मध्ये सबैभन्दा शक्तिशाली मानिएको राजनीतिक संवाद तथा सहमति समितिले पहिलो चरणको काम पुरा गर्ने सयम अब ४ दिनमात्र बाँकी छ । सो समितिले भदौ २१ भित्र राजनीतिक दलहरुबीच संविधानभा विषयमा रहेका विवादित विषयमा सहमति कायम गरिसक्नुपर्नेछ । तर अहिलेसम्मको कामको प्रकृति हेर्दा समितिले तोकिएको समयभित्र काम गर्नसक्ने अवस्था नरहेको बताउँछ, समिति सदस्य एवं फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव । ‘अहिलेसम्म समितिले प्रक्रियालाईमात्र अगाडि बढाएको छ, यादवले ओएनएससँग भने,‘विषयबस्तुका हिसावले कुनैपनि काम अगाडि बढेको छैन ।’ संविधानसभाद्वारा निर्धारति कार्यतालिका अनुसार काम हुने कुनै संभावना नै छैन ।’ संवाद समिति अहिलेसम्म मुख्य विवादित विषयमा प्रवेश नै गरेको तर्क गर्दै यादवले भदौ २१ भित्र सहमति असंभव रहेको बताए ।

संवाद समितिले विभिन्न उपसमिति गठन गरी सहमति कायम गर्ने प्रयास गरे पनि तोकिएकै समयभित्र काम गर्ने संभावना नरहेको स्विकार गर्छन, समितिका सभापति एवं तमसपा अध्यक्ष महेन्द्रराय यादव । ‘पहिला जुन कुरामा सहमति हुन सकेको थिएन । अहिले पनि त्यही विषयमा सहमति भएको छैन, यादवले ओएनएसंग भने,‘ कांग्रेस, एमाले र एमाओवदी बीच पुस नौ मा भएको सहमति अनुसार काम भयो भने ताकिएको समयभित्र संविधान बनाउन सहज हुन्छ ।’ पहिलो संविधानसभामा सहमति भएका विषयलाई मात्र नयाँ संविधानसभाले सहमति मानेको छ । संवैधानिक समिति र त्यस अन्तर्गतका विवाद समाधान उपसमितिले गरेका सहमतिका विषयबारे संविधानसभा मौन रहेको छ ।

केही दिन देखि संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले शीर्षतहमा विवादित विषयमा सहमति जुटाउने प्रयास थालेका छन् । जस अनुसार मंगलवार मात्र संविधानसभा बाहिर रहेको नेकपा–माओवादीसँग छलफल गरेको थियो । भट्टराईकै पहलमा केही दिनदेखि शीर्ष नेताबीच औपचारिक र अनौपचारिक छलफलमार्फत विवादित विषयमा सहमति जुटाउने प्रयास पनि जारी छ । तर, सहमतिको प्रयास गर्ने समय ढिला भइसकेको तर्क गर्छन, फोरम नेपालका अध्यक्ष यादव । ‘समय छँदा केही काम नगर्ने समय सकिएपछि हतार गर्नुको अर्थ छैन ।’

कार्यतालिकाअनुसार सहमति नजुटे अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको प्रक्रियामा गएर निर्णय गरिने बताएका छन् । मंगलबार एक कार्यक्रममा उनले यस्तो बताएका थिए । वर्तमान सत्तारुढ गठबन्धसँग करिब दुईतिहाइ बहुमत भएकाले पनि उनीहरु प्रक्रियामा जानुपर्नेतर्फ केन्द्रित भएका छन् । तर, तेस्रो स्थानमा खुम्चिएको एमाओवादी र केही मधेस केन्द्रित दलहरु भने प्रक्रियामा जान नहुने अडानमा छन् । प्रक्रियामा गए कार्यतालिका संशोधन गर्नुपर्ने हुन्छ । तर, सभाध्यक्ष नेम्वाङ भने कार्यतालिका संशोधनको विपक्षमा रहेको उनी निकट स्रोतले बतायो । एक पटक कार्यतालिका संशोधन गरिए तोकिएको मितिमा संविधान जारी नहुने जोखिम रहेकाले उनी कार्यतालिका संशोधनको विपक्षमा रहेका हुन् ।


  •  
  •  
  •