काठमाडौं १३ वैशाख (ओएनएस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले जहाज (सिप) मा सुरक्षाकर्मीको काममा जाने कामदारलाई फर्काउन र अनुचित लाभ खोज्न थालेपछि आकर्षक रोजगारीमा दरिएको काममा नेपालीको अवसर गुम्ने सम्भावना देखिएको छ ।
जहाज कम्पनीले आवश्यकताअनुसार जुनसुकै देशमा बोलाउने प्रकृतिको जागिरको लागि विमानस्थल अध्यागमनले जान लागेकै देशमा काम गर्ने इजाजतको कागज खोज्न थालेपछि नेपाली कामदारले यो काम नपाउने अवस्था बन्न लागेको हो ।
बि्रटिश जहाज कम्पनी ‘एसपिएस’ को लागि चैत २९ गते जेट एअरको उडानबाट दिल्ली हुँदै कोलम्बो जान हिंडेका ३ कामदारलाई त्रिभुवन विमानस्थल अध्यागमनले कागजपत्र नमिलेको भन्दै जान दिएनन् । जान लागेको देश श्रीलंकामा काम गर्ने श्रम इजाजत नभएको भन्दै रोकिएको थियो । जनही १ सय अमेरिकी डलर घूस दिएपछि अध्यागमनका कर्मचारीले उनीहरुलाई जाने अनुमति दिएका थिए । कुरा मिलेको जनाएपछि कम्पनीले टिकट पठाइदिएकाले उनीहरु साढे ९ बजे कतार एअरवेजको उडानबाट गन्तव्यतिर लागे । ‘जेट एअरको साढे ३ बजेको उडानबाट अफलोड भएका कामदार कतार एअरवेजको साढे ९ बजेको उडानबाट गए,’ सम्बद्ध श्रोतले भन्यो । अध्यागमनले यसअघि जहाज कम्पनीले पठाएको ‘कामदारको जिम्मा लिन्छु’ भन्ने बेहोराको चिठीको आधारमा जाने अनुमति दिँदै आएको थियो । उक्त दिन अध्यागमनमै जहाज कम्पनीबाट जिम्मा लिने बेहोराको इमेल मगाउँदा पनि कामदारले घूस ख्वाउन परेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमनमा निगरानी बढाउनुका साथै थुप्रै कर्मचारीलाई भ्रष्टाचार मुद्दा चलाएपछि यसरी कामदार विमानस्थलबाट र्फकनु वा लेनदेन गरी जान पर्ने भएको छ । ‘अख्तियारको कारबाहीले सुध्रेला भनेको त झन पहिले घूस दिन नपर्ने अवस्थामा पनि दिनपर्ने पो हुनथाल्यो,’ म्यानपावरसम्बद्ध श्रोतले भन्यो ।
‘जहाजको सुरक्षाकर्मीको ड्यूटीमा हिंडेका एकाध दर्जन कामदार दिनहूँ विभागमा आइपुग्छन,’ वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरी पुष्करले भने । उनका अनुसार वैदेशिक रोजगारीमा कामदारका आप्रवसानका बारे विभााग, अध्यागमन र अख्तियारको बुझाईमा एकरुपता नहुँदा समस्या उत्पन्न भएको हो । जहाज सुरक्षाकर्मीमा सम्भावित सबै देशको श्रम इजाजत सम्भव छैन । जहाजको सुरक्षामा जानेको कामको प्रकृति फरक हो । यसमा सम्भावित सबै मुलुकको श्रमस्वीकृति लिएर बस्ने कुरा हुन्न । मिल्दापनि मिल्दैन । कान्तिपुरबाट