महिला सिटमा बस्ने ३४५ जना नियन्त्रणमा

275
  •  
  •  
  •  

काठमाडौँ, ४ पुस   (ओएनएस)  : सार्वजनिक यातायातमा महिलालाई आरक्षित स्थानमा बस्ने ३४५ पुरुषलाई ट्राफिक प्रहरीले दुई घन्टा नियन्त्रणमा राखेको छ ।

बिहान ९ बजेदेखि ११ बजेसम्म सञ्चालन गरेको सो अभियानमा बौद्ध, थापाथली, थानकोट, विमानस्थल, कमलपोखरीजस्ता स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक वसन्त पन्तले महिलालाई आरक्षित ठाउँमा बस्ने पुरुषलाई नियन्त्रणमा लिएर ट्राफिक सचेतना दिएर छाडिएको बताउनुभयो ।

कतिपय अवस्थामा अन्जानमै पुरुष महिला सिटमा बस्ने र कतिपय अवस्थामा जानीजानी नै बस्ने गरेकाले उनीहरुलाई पर्याप्त जानकारी दिने र आगामी दिनमा यस्ता कुरामा सचेत गराउने उद्देश्य सो अभियानको रहेको उहाँले जानकारी दिनुभयो ।

काठमाडाँै उपत्यकाका २५ स्थानमा जाँच गरिएको थियो । नियन्त्रणमा लिइएका पुरुषलाई नजिकैको प्रहरी चौकीमा लगेर सचेतना कक्षा दिइएको थियो ।

यस कार्यबाट सडक अनुशासन र सडक सुरक्षा कायम हुने अपेक्षा आफूहरुले लिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– “यो अभियानलाई निरन्तरता दिइने छ ।”


  •  
  •  
  •