तराईमा ‘बुहारी आत्महत्या’को कारक चरम यातना

255
  •  
  •  
  •  

काठमाडौं १५ साउन (ओएनएस) : घरमा भित्र्याइएकी पत्‍नी वा बुहारीलाई चरम शारीरिक र मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य बनाउने घटना तराईमा बढिरहेका छन्। तर घुमाउरो परिस्थिति र कानुन अभावमा यसरी यातना दिएर आत्महत्या गर्न बाध्य पार्ने दोषीले भने उन्मुक्ति पाउँदै आएका छन्।

आवरणमा आत्महत्या देखिए पनि पृष्ठभूमिमा परिवारिक हिंसा र अत्याचार बढी जिम्मेवार देखिने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आर्थिक वर्ष २०७०/७१ मा १० जना विवाहित महिलाले झुन्डिएर र विष सेवन गरेर आत्महत्या गरेका छन्। प्रहरी प्रतिवेदनमा ‘घरायसी विवाद’ का कारण आत्महत्या भएको उल्लेख गरिए पनि प्रत्येक घटना केलाउँदा घरेलु हिंसा मुख्य कारकका रूपमा देखा परेको छ। आत्महत्या गर्ने विवाहित महिला १९ देखि ३५ वर्ष उमेर समूहका छन्।

दाइजोको निहुँमा परिवारका सदस्यबाट पाएको यातना सहन नसकेर वीरगन्ज-१७ पिपराकी १७ वर्षीया अनितादेवी पटेलले आइतबार घरभित्रै झुन्डिएर आत्महत्या गरिन्। चार वर्षअघि विवाहित उनका एक वर्षीय छोरा छन्। अनिताका बाबु मदनप्रसाद कुर्मीले ज्वाइँ अमित पटेललाई तीन लाख नगद दिनुपर्ने वा कुनै जागिर लगाइदिनुपर्ने पछिल्लो सर्त पूरा गर्न नसकेकाले छोरीलाई चरम यातना दिएर आत्महत्या गर्न बाध्य पारेको आरोप लगाए।
आत्महत्याका लागि उक्साउने वा बाध्य पार्ने व्यक्तिविरुद्ध कानुनी कारबाहीका लागि कुनै व्यवस्था नभएका कारण आरोपितले उन्मुक्ति पाउँदैछन्।
वीरगन्ज-१८ भिस्वाटोलकी अनिता देवीले बिहे भएको एक महिना ६ दिन नबित्दै गत असार ७ गते विष सेवन गरेर आत्महत्या गरिन्। उनका काका लक्ष्मण कलवारले ज्वाइँ विजय कलवारलाई दाइजोबापत मोटरसाइकल दिन ढिलो हुँदा चरम यातना दिएर भतिजीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका छन्।

एमालेका स्थानीय नेता प्रह्लाद गिरीले चरम यातना दिएर विवाहित महिलालाई आत्महत्या गर्न बाध्य बनाउने व्यक्तिविरुद्ध कारबाहीका लागि कानुनी व्यवस्था आवश्यक रहेको बताए। ‘घरेलु हिंसा दाइजोसँग जोडिएको छ’, उनले भने, ‘पहिलेपहिले आगोले पोलेर मार्ने प्रवृत्ति थियो, अचेल चरम यातना दिएर आत्महत्या गर्न उक्साउने गरिएको छ।’

आत्महत्याका लागि उक्साउने व्यक्तिविरुद्ध कानुनी कारबाहीका लागि कुनै व्यवस्था नभएका कारण आरोपितले उन्मुक्ति पाउँदै आएको महिला अधिकारकर्मीको भनाइ छ। राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेष चाँदतारा बुहारीको आत्महत्यासम्बन्धी विषयलाई समाजमा गुपचुप राख्ने गरिए पनि तराईमा यो गम्भीर समस्या बन्दै गएको बताउँछिन्। उनले भनिन्, ‘आत्महत्याको कारक रहेका परिवारका सदस्यलाई कारबाहीको दायरामा समेट्न कानुन आवश्यक रहेको हामीले पनि महसुस गरेका छौं।’

यस्तो आत्महत्या वा शंकास्पद मृत्यु भएलगत्तै माइती पक्षले आक्रोशित भएर घर पक्षमाथि हत्याको आरोप लगाई प्रहरीमा लिखित वा मौखिक उजुरी गरे पनि पछि यो विषय सहमतिमा टुंगिने गरेको पाइएको छ। एकजना महिला अधिकारकर्मीले भनिन्, ‘माइती पक्षले छोरी गुमाएपछि सुरुमा आक्रोशित भएर उजुरी गर्ने गरे पनि पछि मुद्दामामिला गर्नुको साटो बिहे र दाइजोमा भएको खर्च क्षतिपूर्ति भराएर चुप लाग्ने प्रवृत्ति छ।’

प्रहरी उपरीक्षक धीरजप्रताप सिंह मधेसी समाजमा सामाजिक लाञ्छाना लाग्ने डर र माइतीलाई अनावश्यक तनाव पुग्ला भन्ने डरले गर्दा विवाहित महिला लामो समयसम्म घरेलु हिंसाविरुद्ध मौन बस्ने र अन्तत: आत्महत्याको मनस्थितिमा पुग्ने गरेको बताउँछन्। ‘हिंसाको अवस्थासम्म फौज्दारी अभियोग आकर्षित हुन्छ’, उनले भने, ‘आत्महत्यापछि हिंसा पुष्टी गर्न कठिन हुने भएकाले मुद्दा फितलो हुन पुग्छ।’अन्न्पूर्णपोष्टबाट


  •  
  •  
  •