हिमाल चढाउने एक्ली गाइड

136
  •  
  •  
  •  

काठमाडौं १८ पुस । गौरीशंकर हिमालको काखमा रहेको रोल्वालिङ उपत्यकाको नाँगाउँमा जन्मिएकी उनलाई २० वर्षअघि आफन्तले राजधानी ल्याएर एउटा निजी बोर्डिङ स्कुल भर्ना गरिदिए। उनले ५ कक्षासम्म त सरासरी पढिन्। त्यसपछि पढाइमा ठूलो तगारो तेर्सियो, आर्थिक अभावको। उपाय केही लागेन र उनी घरै फर्किइन्।

अब उनको दिनचर्या बदलियो। पढाइ रोकिएपछि उनी पर्यटक भरिया बनिन्। रोल्वालिङ हुँदै हिमालतिर लाग्ने पर्यटकका भारी बोक्न थालिन्। लगातार १२ वर्ष यही क्षेत्रको संघर्षले उनलाई सफलता दिलाइछाड्यो।

यो कथा हो– दाबा याङजुम शेर्पाको। नेपालकी पहिलो माउन्टेन गाइड महिलाको। आइतबार मात्र उनले आधाकारिक रुपमा यो उपाधि हासिल गरेकी हुन्। नेपाल पर्वतारोहण पथप्रदर्शक संघले उनलाई एक समारोहबीच ‘राष्ट्रिय माउन्टेन गाइड’ उपाधि घोषणा गर्योन। ‘गाइड डे’ अवसरमा आयोजित कार्यक्रममा संघबाट यो उपाधि पाएपछि उनी निकै खुसी छिन।

पर्वतारोहण संघको सहयोगमा माउन्टेन गाइड उत्पादन गर्दै आएको पथप्रदर्शक संघका अनुसार हालसम्म पर्यटक र आरोहीलाई हिमाल लैजान सक्ने ४६ माउन्टेन गाइड छन्। ‘१५ जना राष्ट्रिय, ३२ जना अन्तर्राष्ट्रिय स्तरका,’ संघका महासचिव पासाङ शेर्पाले नागरिकसँग भने, ‘यीमध्ये दाबा याङजुम एक्ली महिला हुन्।’ उनका अनुसार दाबालाई अब देशका सबै हिमाल आरोहण गराउने अनुमति छ।

दाबाको संघर्ष जारी छ। दक्षिण एसियाकै पहिलो माउन्टेन गाइड महिलाको गन्तव्य पनि अब त्यति टाढा छैन।

…..

उनको संघर्षको कथा भने लामो छ।

ट्रेकिङ लाइन दाबा याङजुमका लागि नौलो थिएन। बाबु र दाइको जीवन यसैमा बित्दै थियो। गाउँका प्राय पुरुष यही काम गर्थे। रोल्वालिङ उपत्यका घुम्न आउने पर्यटकका भारी बोकेर कमाएको पैसा बचाएर बुबा–आमालाई दिन थालिन्।

पर्यटक भरिया बनेर १२ वर्षअघि दाबा जब ट्रेकिङ टोलीसँगै गाउँकै टासिलाप्चा हिमाल पार गर्दै सगरमाथा बेस क्याम्प पुगिन्। मनमा अनेक कुरा खेल्न थाले। पढाइ छाड्नुपर्दाको पीडा छँदै थियो। बेसक्याम्पमा रातभर सोचेर एउटा अठोट लिइन्, यही क्षेत्रमा काम गरेर नाम कमाउने। ठूला–ठूला हिमाल चढ्ने र अरुलाई चढ्न सघाउने।

टासिलाप्चा पार गरेर सगरमाथा बेसक्याम्प पुगेपछि उनी केही साथीसँग लुक्ला हुँदै राजधानी पुगिन्। अंग्रेजी भाषा सिक्न थालिन्। अब विदेशी टोलीसँग ट्रेकिङ गाइडको भूमिका निभाउन उनलाई कुनै छेकबार थिएन।

सन् २००९ मा लुक्लाबाट नाम्चे हुँदै कालापत्थर पुगेर फेरि लुक्ला झर्ने अल्ट्रारनिङ म्याराथन प्रतियोगितामा भाग लिइन्। फर्केर संघमै आरोहणसम्बन्धी एकमहिने तालिम लिन थालिन्। ‘त्यतिखेर दुई किसिमका तालिम लिएँ,’ दाबाले गत साता भेटमा सुनाइन्, ‘तालिमलगत्तै रोल्वालिङ उपत्यकाकै चेकिगो हिमाल चढ्न पुगेँ।’

त्यहाँ उनलाई छोटो समयमा सगरमाथा आरोहण गर्ने चर्चित आरोही पेम्बादोर्जे शेर्पा र मिङ्माग्याल्जे शेर्पाले उक्त हिमाल चढाए। हिमालको चुचुरोमा पहिलो यात्रा त्यहीँबाट सुरु भयो। रोल्वालिङका अन्य हिमाल पनि उनले चढिन्। त्यसपछि आरोहण क्षेत्रमा उनको सम्बन्ध बाक्लो हुँदै गयो।

सन् २००९ मा ५ हजार ५ सय ५० मिटरको समिट याला हिमाल चढिन्, २०११ मा ६ हजार १ सय १२ मिटर उचाइको आमाप्लम, २०१४ मा अन्य दुई महिलासँगै ८ हजार ६ सय ११ मिटरको केटु हिमाल चढिन्। यसबीचमा तिब्बतका हिमाल पनि चढ्न भ्याइन्।

दाबाका सामु अब सर्वोच्च शिखर सगरमाथा उभिएको थियो। उनले त्यो पनि सन् २०१२ मा चढिभ्याइन्। अमेरिकी टोलीको ट्रेकिङ गाइड र सहयोगी बनेर सगरमाथा चढ्दा दाबा याङजुमलाई जीवनमा एउटा ठूलै साहस जितेको अनुभव भयो।

‘संसारकै अग्लो सगरमाथा चुचुरोमा पुगेर फर्किएपछि आरोहण गराउँछु भन्ने अठोट लिएँ,’ उनले भनिन्, ‘फर्किएपछि दाजु र श्रीमानले पनि हौस्याए।’

सन् २०१३ को सुरुमा नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक संघले नेसनल गाइडका लागि आवेदन खुलायो। सबैको हौसलाले दाबाले आवेदन दिइन्।

हिउँद, वसन्त ऋतु र वर्षायाम गरेर तीन चरण तालिम लिनुपर्ने। ‘सुरुमा जाडो मौसममा रोल्वालिङ क्षेत्रका हिमालमा आइस रक चढ्नुपर्थ्यो,’ दाबाले सुनाइन्, ‘आफूले सानैदेखि घुलमिल गरेको र हिउँ जमेका टाकुराबारे जानकार रहेकाले उक्त तालिम पास गरेँ।’

२० दिने रोल्वालिङका हिमशृंखला तालिम सकेर उनलाई दोस्रो चरणको तालिम दिन काठमाडौं लगियो। त्यहाँ उनलाई मौसम, म्यापसहितका विषयमा सैद्धान्तिक कक्षा दिइयो। त्यसमा पनि उनी सफल भइन्।

तेस्रो चरणको तालिमका लागि दाबा याङजुमसहित सबै सहभागीलाई लाङटाङ हिमाल लगियो। उनीसँगै अर्की महिला पनि थिइन्। अन्तिम तालिममा उनले हिमाल आरोहण गर्ने पर्यटकलाई सँगै सफल आरोहण गराएर फर्काउनुपर्थ्यो। ‘आरोही लिएर जाने, डोरी टाँग्ने र चुचुरोमा पुर्याैएर बेसक्याम्प फर्काउनुपर्थ्यो,’ उनले अनुभव सुनाइन्, ‘तालिममा मलाई दिइएको आरोही/पर्यटकलाई सफल रुपमा तोकिएको स्थानमा पुर्याैएँ, तर फर्केर आउँदा आफ्नो चस्मा र आइसेक्स (हिउँमा डोरी टाँग्न गाडिने फलाम) माथि नै छुटाएछु। तालिममा महिला भनेर छुट दिइँदैनथ्यो, सोर्सफोर्स लाग्दैनथ्यो, त्यसैले २०१३ को सेप्टेम्बरमा म असफल भएर फर्किएँ।’

तालिम खर्चिलो भए पनि उनले हरेस खाइनन्। श्रीमान पासाङतेन्जिङ र दाजु दाबाग्याल्जेले एकपटक प्रयास गर्न दबाब दिए। अन्य साथीले पनि जोड गरे। तालिमका लागि उनले फेरि सन् २०१४ को सुरुमा आवेदन दिइन्।

सुरुदेखि सबै जाँच दोहोर्या।उनुपर्थ्यो। ‘रोल्वालिङका हिमाल चढेर सुरु गर्दै फेरि १ वर्ष तालिममा सहभागी हुन तयार भएँ,’ उनले सुनाइन्, ‘सेप्टेम्बर अन्तिममा तालिम सकियो, सबै चरणमा सफल भएँ।’

यत्रो दुःख गरेर पाएको सफलताको प्रमाणपत्र भने उनले आफ्नै हातले लिन पाइनन्। गत साता अमेरिका पुगेकीले उनका श्रीमानले संघको कार्यक्रममा उनको प्रमाणपत्र बुझिदिए। केटु हिमाल आरोहणको अनुभव आदानप्रदान गर्न र आरोहणसम्बन्धी कार्यशालामा सहभागी हुन आफू दुई महिना अमेरिका रहने उनले भेटमा सुनाएकी थिइन्।

दाबा यामजुङले अबका दुई वर्ष हिमाल आरोहणमै बिताउनेछिन्। त्यसलगत्तै उनले अन्तर्राष्ट्रिय माउन्टेन गाइड परीक्षाको तयारी गर्नु छ। ‘यसबीचमा विभिन्न हिमाल चढ्न जान्छु, केही समय चढाउने काम पनि गर्छु,’ उनले सुनाइन्।

संघका महासचिव पासाङका अनुसार अन्तर्राष्ट्रिय माउन्टेन गाइडको परीक्षामा सफलता पाए उनी दक्षिण एसियाकै पहिलो माउन्टेन गाइड महिला हुनेछिन्। अन्तर्राष्ट्रिय गाइडले नेपालबाहेक युरोपसहित विभिन्न देशका हिमाल आरोहण गराउन पाइने पासाङले जानकारी दिए। नागरिकबाट

 


  •  
  •  
  •