बिरामी खोज्न महिला स्वयम्सेविका परिचालन

143
  •  
  •  
  •  

बाँके, १८ भदौ : बाढीबाट अति प्रभावित बाँकेका पाँच गाविसमा बिरामी खोज्न महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ । उनीहरूले प्रकोपबाट प्रभावित गाउँमा पाँच दिनसम्म निगरानी गर्नेछन् । जिल्लाको फत्तेपुर, होलिया, गङ्गापुर, मटेहिया र बेतहनीमा ७८ स्वयम्सेविका परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवनकुमार मल्लले बताए ।

बाढी प्रभावित अन्य गाविसमा पनि स्वयम्सेविका परिचालन गरी नियमित स्वास्थ्य शिविर सञ्चालन भइरहेका छन् । ती गाविसमा ज्वरो, पखाला, रुघाखोकी, आँखा पाक्ने र छालाको सङ्क्रमण फैलिएका कारण स्वयम्सेविका परिचालन गरिएको हो । स्वयम्सेविकाले घरमै पुगेर बिरामी खोज्नुका साथै प्रभावित क्षेत्रमा देखिएको विभिन्न रोगको सङ्क्रमण नियन्त्रणका लागि स्थानीयलाई सचेत गराउने छन् । सो क्रममा उनीहरूले पानीमा राखिने पियुस, जीवनजललगायतका औषधि र साबुन पीडितलाई वितरण गरिने प्रमुख मल्लले बताए ।

बाढी प्रभावित क्षेत्रमा विभिन्न सङ्क्रमणात्मक रोगबाट ६ जनाको मृत्यु भएको र ती मध्ये दुईजना भने अन्य रोगकै कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्यको दाबी छ ।


  •  
  •  
  •