विराटनगरलाई हराउँदै जनकपुरले जित्यो महिला क्रिकेटको उपाधि

193
  •  
  •  
  •  

काठमाडौं, ५ मंसिर (ओएनएस) : वाई–वाई यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि क्षेत्र नं. ७ जनकपुरले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा जनकपुरले डिफेन्डिङ च्याम्पियन विराटनगरलाई २७ रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १३१ रन जोड्यो । जनकपुरको लागि अनुराधा चौधरीले ३३, ममता चौधरीले ५५ र सरस्वती चौधरीले २३ रनको योगदान गरे । बलिङतर्फ विराटनगरकी सबनम राईले २ विकेट लिइन् ।

१३२ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र जोड्न सक्यो । विराटनगरको इनिङ ध्वस्त पार्ने क्रममा जनकपुरकी आरती चौधरीले २ विकेट लिइन् भने ममता, सरस्वती र अनुराधाले १–१ विकेट हात पारे । विराटनगरको लागि संगिता राईले सबैभन्दा बढि ३२ र रोमा थापाले नटआउट २४ रनको योगदान गरेपनि हार टार्न सकेनन् ।

उपाधिसँगै जनकपुरले २५ हजार रुपंैया प्राप्त गर्दा विराटनगरले १५ हजारमा चित्त बुझायो । जनकपुरकी ममता प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् भने बैतडीकी विन्दु रावल उत्कृष्ट ब्याट्सवुमेन, नेपालगञ्जकी रेखा केसी उत्कृष्ट बलर घोषित भइन् । फाइनलमा उत्कृष्ट घोषित भएकी ममताले १५ हजार नगद प्राप्त गर्दा अन्य उत्कृष्टले ५–५ हजार हात पारे ।


  •  
  •  
  •