एपीएफ र बैतडी सेमिफाइनलमा

139
  •  
  •  
  •  

काठमाडौं, ४ फागुन (ओएनएस) : एपीएफ र बैतडी राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको खेलमा एपीएफसँग २ विकेटको हारका बापजुत पनि बैतडीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

समूह ‘ए’ अन्तर्गत एपीएफ समूहका चारै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । ४ अंक जोडेको बैतडीले समान अंक भएको वीरगन्जलाई रनरेटमा पछि पार्दै अन्तिम चारको यात्र पक्का गर्याे ।

कीर्तिपुरमा सोमबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बैतडी ३५.५ बलमा ९१ रनमा अलआउट भयो । बैतडीको लागि कबिता कुँवरले सबैभन्दा बढि १८ रन बनाईन् । बलिङतर्फ एपीएफकी बिनु बुढामगरले २ विकेट लिदा कप्तान रुविना क्षेत्री, ऋतु कोनोजिया, सीता रानामगर र सरिता मगरले १–१ विकेट लिए ।

९२ रनको लक्ष्य एपीएफले २६.२ ओभरमा ८ विकेटको क्षतिमा पार गर्याे । एपीएफको लागि सीताले ३८ र ज्योती पाण्डेले २० रनको योगदान गरे । बलिङतर्फ बैतडीकी रेखा रावलले ४ र अञ्जली चन्दले ३ विकेट लिईन् ।

प्रतियोगिताअन्तर्गत अर्काे खेलमा जनकपुरले धनगढीलाई १० विकेटले पराजित गर्याे । धनगढीले दिएको ७० रनको लक्ष्य जनकपुरले विना विकेटको क्षतिमा पार गर्याे । जनकपुरको जितमा अनुराधा चौधरी २९ र शोभा आले २७ रनमा अविजित रहे ।


  •  
  •  
  •