पत्नी कुट्नेलाई डेरामा राख्‍न आदेश

66
  •  
  •  
  •  

काठमाडौं २३ पुस ।
ललितपुर जिल्ला अदालतले पत्नीलाई निर्मम यातना दिने एक कर्मचारीलाई घरभन्दा टाढा डेरा खोजेर राखिदिन प्रहरीलाई सोमबार आदेश दिएको छ। आफूलाई दिनहुँ कुटपिट गरी घरेलु हिंसा गरेको अभियोगसहित नेपाल विद्युत् प्राधिकरणका अधिकृत गजेन्द्रबहादुर थापाकी पत्नीले पतिलाई सजायको मागसहित आइतबार अदालतमा मुद्दा दिएकी थिइन्। थापाले अब स्थायी घर छाडेर डेरामा बस्नुपर्ने भएको छ।

नुवाकोट पुख्र्यौली घर भएका थापा पत्नीसँगै ललितपुर किटिनीमा बसोबास गर्दै आएका थिए। थापाकी पत्नी राष्ट्रिय वाणिज्य बैंकको अधिकृतबाट अवकाशप्राप्त हुन्। यी दम्पतीकी एकमात्र छोरी बंगलादेशमा एमबीबीएस पढ्दैछिन्। किटिनीमा रहेको घर भने पत्नीको नाममा छ।

न्यायाधीश टेकनारायण कुँवरको इजलासले मिसिल संलग्न कागजात, मेडिकल रिपोर्ट र पीडितको बकपत्रका आधारमा घरेलु हिंसाका अभियुक्त थापालाई तत्कालका लागि बेघर बनाउन आदेश दिएको हो। उक्त आदेश मंगलबार ललितपुर प्रहरी परिसरमा पठाइएको छ। थापाले रक्सी खाएर वर्षौंदेखि कुटपिट गर्दै आएको मुद्दामा उल्लेख छ।
डेरामा बसेपछि पनि पत्नीलाई खानलाउन दिन, कुटपिट नगर्न, शिष्ट र सभ्य व्यवहार गर्न, गालीबेइज्जती नगर्न, धम्की तथा असभ्य व्यवहार नगर्न इजलासले थापालाई सचेत गराएको छ। 
थापालाई डेरामा राखेपछि पनि हिंसाबारे नियमित निगरानी गर्न महिला प्रहरी अधिकृतको नेतृत्वमा तीनजना सुरक्षाकर्मी संलग्न टोली गठन गर्न अदालतले ललितपुर प्रहरी परिसरका एसएसपीलाई आदेश दिएको छ। आदेशअनुसार उक्त टोलीले एक महिनासम्म अनुगमन गरेर पत्नीमाथि हिंसा भएनभएको विषयमा अदालतमा प्रतिवेदन जाहेर गर्नुपर्नेछ।
अदालतले स्थानीय भद्रभलाद्मीको रोहबरमा पीडितलाई साथै राखेर थापाको गतिविधि नियाल्न भनेको छ। जसअनुसार दिनको एकपल्ट निरीक्षण गरी प्रत्येक सातसात दिनमा प्रतिवेदन बुझाउनुपर्नेछ।
अदालतले फोन, इमेल, एसएमएस र इन्टरनेटका कुनै पनि माध्यमबाट पत्नीलाई दु:ख नदिन पनि थापालाई आदेश दिएको छ। घरेलु हिंसा कसुर र सजाय ऐन, २०६४ को दफा ६(१) (ग) को व्यवस्थाअनुरूप थापालाई बेघर गरिएको हो।
थापा पत्नीले अरोपपत्रमा बोतल, मुड्की र लात्तीले कुटपिट गरी शारीरिक र मानसिक यातना दिने गरेको खुलाएकी छन्। उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र पति कार्यरत कार्यालयलाई पनि सम्झाइबुझाइ गरिदिन निवेदन दिएकी थिइन्। त्यहाँबाट न्याय नभएपछि उनी अदालत पुगेकी हुन्।
इजलासले पीडितलाई लागेको शारीरिक र मानसिक चोटमा उपचारको व्यवस्था गरी खर्च भराउन पनि भनेको छ। डेरामा बसेपछि पनि पत्नीलाई खानलाउन दिन, कुटपिट नगर्न, शिष्ट र सभ्य व्यवहार गर्न, गालीबेइज्जती नगर्न, धम्की तथा असभ्य व्यवहार नगर्न इजलासले थापालाई सचेत गराएको छ।
विषयको संवेदनशीलता हेरी यो मुद्दा बन्द इजलासमा सुनुवाइ भएको थियो। ललितपुर अदालतले चाँडै निष्कर्षमा पुग्न मुद्दालाई निरन्तर सुनुवाइमा राखेको छ।
अन्नपूर्णपोष्टबाट

 


  •  
  •  
  •