काठमाडौं, २७ असार (ओएनएस) : जिल्लाको सदरमुकाम मार्तडी–१ ढम्कनेकी पञ्चा रोकायालाई बिहीबार साँझ सुत्केरी व्यथा लाग्ने बित्तिकै मार्तडी स्वास्थ्यचौकीमा लगियो।
त्यहाँ महिला स्वास्थ्यकर्मी नभएर पुरुष स्वास्थ्यकर्मीबाट सुत्केरी सेवा लिन रोकाया बाध्य भइन्। करारमा रहेका अहेब खम्म मिजारले दिएको सेवाबाट उनले छोरा जन्माइन्। स्वास्थ्यचौकीमा नर्सहरू होलान्, भनेर सेवा लिन आए त्यहाँ त पुरुष मात्र रहेछन् लाज मानेर भए पनि बाध्यताले सुत्केरी सेवा लिएको रोकायाले बताइन् । महिला भएको भए गाह्रो हुने थिएन, पुरुषबाट सेवा लिँदा आफूले निकै समस्या र लाज मानेको उनले थपिन्। पञ्चाजस्तै स्वास्थ्यचौकीमा प्रसूति सेवा लिन आउने महिलालाई पुरुष स्वास्थ्यकर्मीले सेवा दिने गरेको स्वास्थ्यचौकीका अहेब मिजार बताए।
आफूहरूले तालिम नलिए पनि अनमी नभएपछि बाध्यताले सेवा दिँदै आएको उनले बताए। यहाँ महिनामा तीन–चारजनाभन्दा बढी सेवा लिन आउने गरेका छन्। मार्तडी स्वास्थ्यचौकीमा ब्रथिङ सेन्टर भएको तीन वर्ष भइसकेको छ, अधिकांश समयमा पुरुषले मात्र सुत्केरी सेवा दिँदै आएका स्थानीय लक्ष्मीराज पाध्याले बताए। स्वास्थ्यचौकीमा दरबन्दीमा महिला स्वास्थ्यकर्मी कोही छैनन्।
क्षेत्रीय करारबाट नियुक्ति भएकी चन्द्रा दानीको म्याद सकिएको छ, भने जिल्ला स्वास्थ्य कार्यालयबाट करारमा रहेकी अनमी अनिता थापालाई जिल्ला स्वास्थ्य कार्यालयमा काजमा ल्याएपछि स्वास्थ्यचौकीमा महिला स्वास्थ्यकर्मी नभएको स्वास्थ्यचौकीका इन्चार्ज काशिचन्द्र जैसीले बताए।
हाल स्वास्थ्यचौकीमा एक वरिष्ठ अहेब, एक अहेब र दुईजना पियन रहेका छन्। जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडीले आफूलाई यसबारे कुनै जानकारी नभएको भन्दै महिला स्वास्थ्यकर्मी पठाउने बताए। जिल्ला स्वास्थ्य कार्यालयबाट मार्तडी स्वास्थ्यचौकी २ घण्टा पैदल दूरीमा रहेको छ। अन्नपूर्णपोष्टबाट